धरानः सुनसरीमा साउन २९ गतेसम्म निषेधाज्ञा थप भएको छ ।
यस्तै, धरानमा संक्रमण अत्याधिकरूपले वृद्धि हुँदै गएकोले उपमहानगपालिका क्षेत्रमा सागसब्जी तथा तरकारी तरकारी बजार, पसलहरु बिहान ९ बजेसम्म र अन्य पसलहरु बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने नियम बनाइएको छ । यस्तै, धरानमै एन्टिजेन तथा पिसिआर परीक्षणको दर बढाउने निर्णय भएको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले मङ्गलबार यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशकुमार पोख्रेलले स्मार्ट लकडाउनको अवधारणामा अघि बढेको जानकारी दिए । उनले सुनसरीमा जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहीको स्थानीय तहले नै सोही स्थानमा सिल गर्ने र प्रवेशमा रोक लगाउन सक्ने निर्णय भएको जानकारी दिए । ‘पुरै सहरै लकडाउन हुन्छ भन्ने होइन, जहाँ सङ्क्रमण बढी हुन्छ, त्यहीको स्थानीय तहले नै सङ्क्रमण बढी भएको क्षेत्रमा सिल गर्ने र आवतजावतमा रोक लगाउने हिसाबले निर्णय भएको छ’, उनले भने ।
गत वैशाख दोस्रो हप्तादेखि जारी निषेधाज्ञा हालसम्म कायम छ । पछिल्लोपटक सरकारले थपेको निषेधाज्ञा आज राति १२ बजेदेखि सकिँदैछ ।
पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीका अधिकाङ्श स्थानीय तहमध्ये धरानका बढी सङ्क्रमित थपिएका छन् ।







