विराटनगरः मोरङमा थप १० दिनसम्म निषेधाज्ञा थपेर लम्ब्याइएको छ ।
आइतबार बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ १० गतेसम्मका निषेधाज्ञा थप भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
यो पटकको निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्रीका पसल खाद्यान्न, फलफुल, तरकारी, माछामासु, दूध, डेरी, पुस्तक पसल तथा हार्ड वेयर पसल प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने उल्लेख छ । सङ्क्रमण जोखिम नघेटको उल्लेख गर्दै निषेधाज्ञा बढाइएको जनाइएको छ ।
विद्यालय, ट्युसन सेन्टर, गुद्री बजार, हाटबजार सब्जीमन्डी पार्टी प्यालेस, स्विमिङ पुल, सिनेमा हल बन्द रहनेछन् । कुनै पनि स्थानमा भेला जुलुस, सम्मेलन गोष्टी तथा सेमिनार बन्द गर्ने निर्णय भएको छ ।