धरानः धरानमा अन्ततः भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन हुने नै भएको छ । ‘चेनब्रेक’ भन्दै धरानमा १० दिने कडा लकडाउन गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि स्थानीय तहलाई नै लकडाउन गर्न सक्ने अधिकार दिएको छ । प्रशासनले धरान र इटहरीको हकमा स्थानीय तहको सिफारिसअनुसार कुनैपनि बेला स्थानीय तहले नै आदेश जारी गर्न सक्ने जनाएको थियो ।
यसैबीच धरानमा बसेको कार्यपालिकाको बैठकले पनि ४ गतेदेखि १० गतेसम्म कडा लकडाउन गर्ने निर्णय पास गरेको छ । नियमअनुसार लकडाउनमा घरबाट बाहिर अत्यावश्यक कामबाहेक कसैलाई पनि निस्कन दिइने छैन । निर्णयअनुसार लकडाउन अवधिभर बजार, पसल तथा यातायात सबै ठप्प हुनेछ । औषधि पसल र आन्तरिक दूध बिक्री वितरणबाहेक अन्य केही गर्न नपाइने वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार पसलसमेत १० दिनसम्म बन्द रहनेछन् ।
मेयर तिलक राईले कडा लकडाउन गर्ने निर्णय पास भएको जानकारी दिए । ‘धरानका जनता बचाउनकै लागि पनि हामी लागिपरेका हौं’, मेयर तिलक राईले भने, ‘त्यसैले लकडाउनबाहेक अन्य विकल्प देखेनौं ।’
जनप्रतिनिधिहरु सम्मिलित बैठकले सो निर्णय पास भएको उनले जानकारी दिए । ‘निर्णयबारे मङ्गलबार धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकमा प्रस्तुत भयो, अनुमोदन भइसकेको छ, धरानमा लकडाउन गर्ने निर्णय भइसकेको छ ।’ मेयर राईले भने ।
यसअघि व्यवसायीले भने लकडाउनको विकल्प खोजिनुपर्ने बताउँदै आएका थिए । उता धरानका राजनीतिक दलहरुले भने यसअघि नै लकडाउन गर्नुपर्छ भन्दै ज्ञापनपत्र समेत बुझाइसकेका थिए । लकडाउन व्यवस्थापन गर्न वडा नं. १४, १५, १६ र १७ का वडाध्यक्ष समेत रहनेगरी एक समन्वय समिति गठन गर्ने निर्णय समेत भएको जनाइएको छ ।
उपमहानगरपालिकाको निर्णय
हाल विश्वभरी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस धरानमा पनि समुदाय स्तरमानै फैलिरहेको हुँनाले यसको रोकथामका लागि चेनब्रेक गर्न आवश्यक रहेको र त्यसका लागी लकडाउन गर्नु पर्ने भनी धरान स्थित राजनीतिक दलहरुबाट ज्ञापन पत्र समेत बुझाइएको साथै विज्ञहरुबाट समेत सुझाव प्राप्त भएकाले मिति २०७८–०४–३२ गते प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा आयोजना गरिएको सर्वदलीय साथै सरोकारवालहरुको सर्वपक्षीय वैठकबाट समेत उक्त चेनब्रेक गर्नका लागि बढीमा १० दिन लकडाउन गर्न सिफारिस गर्ने भनी निर्णय भएकाले लकडाउन गर्ने विषयमा आजको बैठकमा विस्तृत छलफल गरियो । सो सम्बन्धमा मिति २०७८।०५।०४ गते देखि २०७८।०५।१३ सम्म १० दिनसम्म लकडाउन गर्ने र लकडाउनका समयमा तपशिल अनुसार खुल्ला र बन्द गर्ने समेत निर्णय गरियो ।
तपशिल:
(क) लकडाउनलाई प्रहरी प्रशासनसँग समन्वय र परिचालन गरी १० दिन सम्म कडाईकासाथ लागू गर्ने ।
(ख) लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न सबै वडाका टोलविकास संस्थाहरू समेत परिचालन गर्ने ।
(ग) लकडाउनको समयमा औषधी पसल र दूग्धजन्य पदार्थ (पसल नखोली ) मात्र बिक्री वितरण गर्न पाउने ।
(घ) प्रभावकारी अनुगमनको ब्यवस्था मिलाउने ।
(ङ) पिसिआर टेष्ट, एन्टीजेन्ट टेष्टलाई बढाउने ।
(च) लकडाउन व्यवस्थापन गर्न वडा नं. १४, १५, १६ र १७ का वडाध्यक्ष समेत रहनेगरी एक समन्वय समिति गठन गर्ने ।








