धरानः धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले पनि आदेश जारी गरेका छन् ।
१० दिनसम्म हुने लकडाउनमा औषधि पसलबाहेकका सबै पसल बन्द रहने जनाइएको छ । यस्तै, सर्वसाधारणको हिँडडुल र आवतजावतलाई पूर्णरुपमा निषेध गरिएको छ भने कोशी राजमार्ग भएर चल्ने सवारीसाधनहरुलाई पनि धरान क्षेत्रमा रोकेर यात्रु ओराल्न वा चढाउन पूर्णरुपमा रोकिएको छ ।
यसैगरी, दूग्धजन्य पदार्थ सटर नखोली बिहान ७ बजेभित्र बिक्री वितरण गरिसक्नुपर्ने आदेशमा जनाइएको छ । कार्यपालिकाले लकडाउन गर्न सिफारिस गरेपछि बुधबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा भदौ ४ गतेदेखि १३ गतेसम्म लकडाउन हुने आदेश जारी गरेका हुन् ।
