धरानः लकडाउन अवधिभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कडाई हुने भएको छ ।
बीपी प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशंकर शाहको कार्यकक्षमा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित बसेको सर्वपक्षीय छलफलले प्रतिष्ठानमा कडाई गर्ने निर्णय गरेको हो । इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवासकुमार लामिछाने भने, ‘धरानमा ४ गतेदेखि १० दिनसम्म कडाईका साथ लकडाउन हुँदैछ । त्यसको तयारीको सिलसिलामा बीपीमा ठूलो संख्यामा बिरामीहरु आउने, उनीहरुको व्यवस्थापन गर्न, बिरामीको कुरुवाहरुलाई व्यवस्थित गर्न छलफल भयो ।’ उनका अनुसार बीपी प्रतिष्ठानअगाडि रहेको सबै होटलहरु समेत बन्द गर्ने निर्णय भएको छ । प्रतिष्ठानमा उपचार गर्न आएका बिरामी र कुरुवाहरुलाई भित्रै खानाको व्यवस्था गर्ने छ । प्रतिष्ठानभित्रका क्यान्टिनहरु खुला हुनेछ । प्रतिष्ठानभित्र रहेका विद्यार्थी, कर्मचारीहरुलाई लकडाउनको बारेमा सुसुचित गर्न पदाधिकारीसँग छलफल गरिएको उनले बताए ।
डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्राले लकडाउन अवधिभर प्रतिष्ठानमा कार्यरत डाक्टर, नर्स, कर्मचारीहरुलाई आवतजावत गर्न पासको व्यवस्था गरिने बताए । गत वर्ष पासको दुरुपयोग भएको कारण यसपटक रुटको आधारमा पास वितरण गरिने जानकारी दिए । उनले छलफलमा प्रत्येक दिन धरानका एक सय जना मानिसहरुको पिसिआर परिक्षण गरिने निर्णय भएको छ । त्यसको लागि उपमहानगरपालिकाबाट सिफारिस ल्याउनुपर्नेछ । प्रतिष्ठानभित्र अत्यावश्यक रुपमा हिँडडुल गरिरहेको पाइएमा कारवाही गरिने भएको छ ।
छलफलमा अनुसन्धान अधिकृत सुकित चौधरी, इमरजेन्सी मेडिसिन प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल, मेट्रोन नर्सिङ सेवा प्रमुख गायत्री राई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई, अस्पताल प्रशासन सुपरभाइजर अशोककुमार शाह, सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्णकुमार श्रेष्ठ, जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक भुवनबाबु खड्का, नगर प्रहरी निरीक्षक विष्णु कोइरालाको उपस्थिति रहेको थियो ।