धरानः धरानमा बिजुली कहिले जाने, कहिले आउने टुङ्गो नहुँदा उपभोक्ता मारमा परेका छन् ।
आइतबार राति १ बजेदेखि ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भनेर सामाजिक सञ्जाल (फेसबुकलगायत) मा सूचना जारी गरेपनि आइतबार बिहान १० बजे अर्थात् ५ घण्टापछि मात्रै बिजुली आएको थियो ।
रानी–विराटनगर–इटहरी–धरान सडक आयोजनाले तरहरास्थित सडक क्रसिङमा रहेको विद्युत टावर हटाएर अण्डरग्राउण्ड केवल जडान गर्ने सूचना विद्युत प्राधिकरण धरान वितरण केन्द्रले फेसबुकलगायत सामाजिक सञ्जालमा जारी गरेको थियो ।
केवल जडान गर्नको लागि ३३ केभी धरान फिडर सटडाउन गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध जनाइएको थियो । विद्युत धरान उपमहानगरपालिकाको सम्पूर्ण वडा, बराह नगरपालिकाको वडा नं १ र २ मा विद्युत अवरुद्ध भएको थियो । शाखा प्रमुख प्रताप बरालले ५ बजेसम्म काम नसकिएको हुनाले ढिलो बिजुली आइपुगेको बताए ।
विद्युत अनियमित यथावत
धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका उपभोक्ता हैरान बनेका छन् । विद्युत अनियमितले अनलाइन कक्षा पढिरहेका विद्यार्थी बढी मारमा छन् ।
डेढ वर्षदेखि अनलाइनका माध्यमबाट पढिरहेका विद्यार्थी पटकपटक बिजुली र इन्टरनेट जान थालेपछि समस्यामा परेका हुन् । पटकपटक बत्ती र इन्टरनेट जाँदा पढाइमा बाधा पुगेको गुनासो विद्यार्थीले गरेका छन् । २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न जारी बन्दाबन्दी भएदेखि निरन्तर विद्यालयहरुले अनलाइन कक्षा चलाइरहेका छन् ।
अनलाइन कक्षा चलेपनि कहिले बत्ती त कहिले इन्टरनेट जाने गरेकाले नियमितरुपमा अध्ययन गर्न नसकिएको विद्यार्थी निता श्रेष्ठले बताइन् । ‘कुनै समय पनि बिजुली गइरहेको हुन्छ, कक्षा शुरु भइसकेपछि पनि बिजुली गइरहन्छ ।’ उनले भनिन् ।
कहिले सडक निर्माण, कहिले खानेपानीको पाइप विच्छ््याउने त कहिले बिजुलीको तारको समस्याले भन्दै बिजुली काटिने गरेको स्थानीयले बताएका छन् । नेपाल विद्युत् प्राधिकरणमा पुनः कुलमान घिसिङ कार्यकारी निर्देशक नियुक्त भई आएपनि बत्ती जाने क्रम नरोकिएको अभिभावकको भनाइ छ ।
विद्यार्थी मात्र नभइ अन्य पेशा र व्यवसायमा कार्यरत अन्यले पनि पनि सम्भव भएसम्म अनलाइनबाटै अहिले काम गरिरहेका छन् । बालमैत्री वातावरण निर्माणका लागि पनि अनलाइन कक्षा चलेका बेला नियमित रुपमा बत्ती र इन्टरनेट सेवाको व्यवस्था हुनुपर्ने अभिभावकहरु बताउँछन् । शाखा प्रमुख बरालले बिजुली अनियमित हुने समस्या रहेको बताउँदै भने, ‘किन बिजुली गयो भन्नेबारेमा आफूहरुसँग फेहरिस्त नै छ ।’
