Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

४९ हजार ४१० नयाँ विरुवा हुर्काइने

हाम्रो कोशी आवाज
भाद्र ८ २०७८, मंगलबार
४९ हजार ४१० नयाँ विरुवा हुर्काइने

ताप्लेजुङः ताप्लेजुङमा ४९ हजार ४१० नयाँ विरुवा हुर्काउने डिभिजन वन कार्यालय ताप्लेजुङले लक्ष्य लिएको छ । ५४ हजार ९०० बिरुवा रोपेका मध्ये ९० प्रतिश विरुवा हुर्काउने लक्ष्य लिएको हो ।
जिल्लाको विभिन्न क्षेत्रका निजी तथा सामुदायिक वन र कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत रहेका वनमा सो सङ्ख्यामा रुख तथा जडीबुटी प्रजातिका विरुवा हुर्काउने डिभिजन वन कार्यालय ताप्लेजुङका सूचना अधिकारी ललितकुमार यादवले बताए । वृक्षारोपणसँगै गोडमेल तथा सिचाईंको लागि पनि आवश्यक बजेट विनियोजन हुँर्दै आएको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । गत जेष्ठ, असार र साउन महिनामा ५४ हजार ९०० विरुवाको वृक्षारोपण भएकोमध्ये ४९ हजार ४१० विरुवा अर्थात् ९० प्रतिशत विरुवा हुर्किने लक्ष्य लिएको यादवले बताए । गएका वर्षहरुमा ताप्लेजुङमा वृक्षारोपण गरिको तथ्याङ्कअनुसार ९० प्रतिशत विरुवा हुर्किने गरेको डिभिजन वन कार्यालय ताप्लेजुङ फोरेष्टर धनिराम सिंहले बताए । वृक्षारोपण गरेसँगै विरुवा हुर्काउन ठूलो चुनौती रहेको सिंहले बताए ।
ताप्लेजुङस्थित डिभिजन वन कार्यालय, कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनासहित वन संरक्षणको क्षेत्रमा क्रियाशील संस्थाहरुले गएको आर्थिक वर्ष २०७७–७८ मा करिव २० हेक्टर क्षेत्रफलमा कुल ५४ हजार ९०० बिरुवा रोपेका छन् । वृक्षारोपण गर्ने अन्य संस्थाहरुमा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल जिल्ला महासङ्घ र हिमाली संरक्षण मञ्च रहेका छन् ।
डिभिजन वन कार्यालयले सल्ला, रानी चापलगायत प्रजातिका करिब आठ हजार विरुवा रोपेको जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत वीरेन्द्र शाहका अनुसार मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित रमितेफेदी सामुदायिक वनमा सो वृक्षारोपण गरिएको डिभिजनल वन अधिकृत शाहले जानकारी दिए । उनका अनुसार सो सामुदायिक वन क्षेत्रको करिव पाँच हेक्टर क्षेत्रफलमा जापानिज, खोटे सल्ला, रानीचाप र दाँते ओखरका विरुवा रोपिएको छ ।
यस्तै, सामुदायिक वन उपभोक्ता महासङ्घ जिल्ला महासङ्घ ताप्लेजुङले करिब ११ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको जनाएको छ । जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाका अनुसार मिक्वाखोला गाउँपालिका–४ साँवाको आइखलम्बा फुङ्फुङगे सामुदायिक वन, वडा नं। ५ पापुङको बतासे दामली भित्ता सामुदायिक वन, हिमाली जडीबुटी सामुदायिक वन लगायतका क्षेत्रमा वृक्षारोपण गरिएको छ ।
सो क्षेत्रमा लेकाली सल्ला, अमेरिकन सल्ला, रानी चाँप, दाँते ओखर, सतुवा लगायतका बिरुवा रोपिएको ओझाले जानकारी दिए । महासङ्घमार्फत् निजी तथा सामुदायिक वन क्षेत्रमा करिब ४० हजार विभिन्न प्रजातिका विरुवा रोपिएको छ । त्यस्तै, हिमाली संरक्षण मञ्चले चार हेक्टर क्षेत्रफल बराबरमा वृक्षारोपण गरेको जनाएको छ । मञ्चकी कर्मचारी दुर्गामाया केदेमका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेको सायपत्री सामुदायिक वनमा तीन हजार ७०० विरुवा रोपिएको छ ।
यसैगरी फुङलिङ नगरपालिका–११ फावाखोलाको पाथीभरा सिम्बु सामुदायिक वन क्षेत्रमा तीन हजार २०० बिरुवा रोपेको केदेमले जानकारी दिए । सो क्षेत्रमा गुराँस र लौठ सल्ला प्रजातिको विरुवा रोपेको मञ्चले जनाएको छ । यता कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजनाले भने विश्व वातावरण दिवसको अवसरमा संरक्षण क्षेत्रअन्तर्गतका विभिन्न ठाउँमा वृक्षारोपण गरेको जनाएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका प्रमुख गणेश तिवारीका अनुसार संरक्षण क्षेत्रमा दर्ता भएका २५ वटा सामुदायिक वन उपभोक्ता समूहमार्फत वृक्षारोपण गरिएको हो । ताप्लेजुङको कुल तीन लाख ६४ हजार ६०० हेक्टर क्षेत्रफलमध्ये एक लाख ५० हजार १५९ हेक्टर अर्थात ४१।१८ प्रतिशत भू–भाग वनजङ्गलले ओगेटेको तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति: भाद्र ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend