Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

घर बनाउँदा हराउँदै काठ

हाम्रो कोशी आवाज
भाद्र १४ २०७८, सोमबार
घर बनाउँदा हराउँदै काठ

धरानः परम्परागत शैलीको होस् वा आधुनिक, घर निर्माणमा काठ नभई हुँदैन । घरको झ्याल, ढोकादेखि फर्निचर सबैमा काठ प्रयोग हुँदै आइरहेको छ । तर, पछिल्लो समय आधुनिक निर्माण सामग्रीमा भएको विकाससँगै घर निर्माणमा काठ चाहिन्छ नै भन्ने छैन ।
भवन निर्माणमा काठको विकल्पको रूपमा थुप्रै निर्माण सामग्री बजारमा आइसकेका छन् । यूपीभीसी, आल्मुनियम, स्टिल, भिनायल, हेम्पलगायत निर्माण सामग्रीले काठको ठाउँ लिन थालेका छन् । यी निर्माण सामग्री हलुका र सुपथ मूल्यमा पाउन सकिन्छ । र, टिकाउ पनि हुने गर्छन् । आवश्यकताअनुसार कुनै पनि आकारमा ढाल्न सकिने र प्रयोग गर्न पनि सजिलो हुनाले झ्याल, ढोकामा काठको सट्टा यूपीभीसी, आल्मुनियमलगायत प्रविधिको प्रयोग बढ्न थालेको निर्माण व्यवसायी बताउँछन् । यी सामग्री प्रयोग गर्दा पनि घर बलियो हुने केएसम सर्भिसेजका सञ्चालक नृपेश तण्डुकार बताउँछन् । ‘पछिल्लो समय झ्याल–ढोकामा कमैले काठ लगाउने गरेका छन्,’ उनी भन्छन्, ‘यूपीभीसी र आल्मुनियमको प्रयोग गर्नेहरू बढेका छन् ।’
‘अहिले मान्छेले कसरी छिटो, बलियो, गुणस्तरीय र सस्तो मूल्यमा घर बनाउने भनेर सोचिरहेका हुन्छन्,’ उनी थप्छन्, ‘आधुनिक निर्माण सामग्रीले सहज बनाइदिएको छ ।’ परम्परागत रातो इँटाको सट्टामा धेरैले एएसी ब्लक प्रयोग गर्न थालेका छन् । सस्तो, बलियो, हलुका र निर्माणमा पनि सहज भएको हुनाले यसको प्रयोग बढ्दै गइरहेको हो ।
महँगो काठ
सरकारको वन ऐनअनुसार एउटा रूख काट्दा २५ वटा रूख रोप्नुपर्ने, अनुमतिबिना रूख काट्न पाइँदैन । काठको ओसारपसार र बिक्री–वितरण प्रक्रिया पनि झन्झटिलो भएकाले यसको विकल्प खोज्न थालिएको हो । नेपालमा सहजै रूख काट्न नपाइने हुँदा विदेशबाट काठ र फर्निचर आयात गरिन्छ ।
‘हरियो वन, नेपालको धन’ भनिए तापनि उपलब्ध स्रोतसाधनको वैज्ञानिक प्रयोग गर्न नजान्दा विदेशबाट काठ आयात गर्नु परिरहेको फर्निचर तथा फर्निसिङ संघका निवर्तमान अध्यक्ष रूपेश प्रधान बताउँछन् । भन्छन्, ‘नेपालमा वन पैदावारको उचित सदुपयोग हुन नसक्दा खेर गइरहेको पैदावार बराबरको वस्तु आयात गर्नु परिरहेको छ ।’ वैज्ञानिकीकरण, बजारीकरण, आधुनिकीकरण हुन नसक्दा वन पैदावरको सरल उपयोग हुन नसकेको उनको गुनासो छ । ‘सरकारी तथ्यांकले पनि बर्सेनि अर्बौं रुपैयाँको काठ आयात भएको देखाउँछ,’ उनी भन्छन्, ‘वन मन्त्रालय र सम्बन्धित निकायको ध्यान यसतर्फ जानु आवश्यक छ ।’ नेपालमा रूख कटानीमा भएको कडाइका कारण काठ महँगो पर्न जान्छ ।
‘आधुनिक प्रविधि भनिएका यूपीभीसी, स्टिल, आल्मुनियम आदि पनि विदेशबाट आयात गर्नुपर्छ,’ प्रधान भन्छन्, ‘जसले गर्दा अर्बौं रुपैयाँ बाहिरिरहेको छ । तर, नेपालको जंगलमा रहेका मूल्यबान रूखहरू बूढा भएर ढल्दै नाश भइरहेका छन् ।’
बर्सेनि १० देखि १२ अर्ब रुपैयाँ बराबरको काठ आयात भइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वदेशी उत्पादनको खपत बढाउन र काठ निर्यात गर्ने अवस्थामा पु¥याउन वैज्ञानिक वन कार्यविधि खारेज गरिएको सरकारको दाबी छ । वन मन्त्रालयका अनुसार, ‘वैज्ञानिक वन व्यवस्थापनका नाममा काम भएको देखाए पनि वास्तवमा यही व्यवस्थापनका नाममा हरियो वन नेपालको धन विनाश भएको रहेछ भन्ने थाहा पाएपछि मन्त्रीस्तरीय निर्णय गराएर कार्यविधि खारेज गर्ने प्रस्ताव पास गराइएको हो ।’
जंगलमा उत्पादित काठ पनि समयमा कटान, संरक्षण, लिलाम र व्यवस्थापन गर्न नसक्दा फर्निचर व्यवसायीले समस्यामा खेप्नु परिरहेको । चाहिएको बखतमा उचित मूल्यमा सुलभ तरिकाले पैदावर नपाउँदा आयातीत काठजन्य कच्चा पदार्थमा भरपर्ने दिन आएको संघको जिकिर छ ।
संघका अनुसार २१ हजार ७ सय ५५ वटा सामुदायिक वन र सरकारी वनबाट काठ निकाल्न सकिन्छ । अहिले १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको तथ्यांकले देखाउँछ ।
बजारमा काठको मूल्य
करिब तीन दशकदेखि फर्निचर व्यवसाय गर्दै आइरहेका दया मैनाली घरका लागि उपयुक्त काठ र फर्निचर छनोट गर्न सके महँगो खर्चबाट जोगिन सकिने बताउँछन् । अहिले बजारमा स्वदेशी जंगलको साज, अग्राख (साल), टिक, सिसौ, सल्लो, उत्तिस, ओखर, पैयूँ, कटुसलगायत रूखको काठ उपलब्ध छन् । विदेशबाट पनि अग्राखको काठ भित्रिरहेको छ तर यो हाइब्रिड अग्राख हो ।
मैनालीका अनुसार यदि घरमा नेपालकै काठ (साज) प्रयोग गर्ने हो भने प्रतिक्युबिक फिट ३५ सय रुपैयाँ पर्न आउँछ । यस्तै, विदेशबाट आयात गरिएको अग्राख क्युबिक फिटकै ४५ सय रुपैयाँ पर्छ भने नेपाली अग्राखको मूल्य प्रतिक्युबिक फिटको छ हजार रुपैयाँ पर्छ । विदेशी अग्राख र नेपाली अग्राखको मूल्य प्रतिक्युबिक फिटमै १५ सय रुपैयाँ हाराहारी फरक पर्न आउँछ ।
नेपालमा उपलब्ध अग्राखभन्दा पनि महँगो टिकको काठ हो । बजारमा टिकको मूल्य प्रतिक्युबिक फिट ७५ सय रुपैयाँ पर्छ । अहिले देशभित्र विभिन्न ठाउँमा खाली जमिन सदुपयोग गरेर टिक काठको व्यावसायिक उत्पादन पनि भइरहेको छ ।
घरमा सबैभन्दा बढी प्रयोग गरिने काठमा सल्लो पनि पर्छ । नेपाली बजारमा सिसौको काठ पनि विभिन्न गुणस्तरमा पाइन्छ । ‘सिसौ काठ प्रयोग गर्दा प्रतिक्युबिक फिट २५ सयदेखि सात हजार रुपैयाँसम्म खर्च लाग्छ,’ मैनाली भन्छन्, ‘लोकल सिसौको काठ प्रतिक्युबिक फिटको २५ सय रुपैयाँ, स्पेसल सिसौको ४५ सय र जंगली सिसौको सात हजार रुपैयाँसम्म पर्छ ।’
तुलनात्मक रूपमा सस्तो पर्ने उत्तिसको काठ पनि फर्निचर बनाउन प्रयोग भइरहेको छ । उत्तिस कोठा फर्निसिङमा पनि प्रयोग हुन्छ । उत्तिसको काठ प्रयोग गर्दा प्रतिक्यिुबिक फिट एक हजार रुपैयाँ हाराहारी पर्न आउने मैनाली बताउँछन् ।
पछिल्लो समय फर्निचर बनाउन र फर्निसिङमा प्लाइउड बढी प्रयोग हुन थालेको छ । प्लाइउड पनि तीन प्रकारको हुन्छ, ‘ए’, ‘बी’ र ‘सी’ । प्लाइउड प्रयोग गर्दा प्रतिस्क्वायर फिटको १५ सयदेखि २५ सय रुपैयाँसम्म पर्छ ।
आधुनिक सामग्रीमा आकर्षण
पछिल्लो समय काठको तुलनामा यूपीभीसी, आल्मुनियम, फलाम, स्टिल लगायतको प्रयोगलाई सहज मान्न थालिएको ग्रिल तथा स्टिल व्यवसायी महासंघको ठहर छ । एक त भनेजस्तो काठ नपाइने, राम्रो काठको मूल्य चर्को हुनु, काँचो वा कम गुणस्तरको काठ प्रयोग गर्दा बाँगिने, जंगलमा काठ काट्न नपाइने, ढुवानी गरेर बजारसम्म ल्याउन निकै झन्झटिलो र खर्चिलो, श्रमिकको ज्याला पनि चर्कोलगायत विविध कारणले आधुनिक निर्माण सामग्रीको प्रयोग बढ्न थालेको हो ।
काठको तुलनामा आधुनिक निर्माण सामग्री प्रयोग गर्दा झण्डै ३३ प्रतिशत सस्तो पर्न जाने र बलियो पनि उत्तिकै हुने व्यवसायीको तर्क छ । हाउजिङ व्यवसायीका अनुसार बहुतले भवन, हाउजिङ, सपिङ मल, हस्पिटल, स्कुल, कलेज, आवासीय घर, अफिस, पसललगायत सबै ठाउँमा काठ प्रयोग हुन छाडिसकेको छ ।
अहिले बजारमा आल्मुनियम र यूपीभीसीका रेडिमेड झ्याल किन्न पाइन्छ । ढोका र चौकस पनि आल्मुनियम र यूपीभीसीको प्रयोग गर्न थालिएको छ । भ¥याङको रेलिङमा स्टिल र फ्लोरमा भिनायल पार्केटिङको प्रयोग बढ्दै गइरहेको छ । घरको संरचना ठड्याउन आधुनिक निर्माण सामग्री सिमेन्ट, बालुवा, गिट्टी, डन्डी, फलाम, स्टिल, यूपीभीसीलगायत प्रयोग हुन थालेका छन् ।

प्रकाशित मिति: भाद्र १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend