विराटनगरः १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा सञ्चालित प्रहरी जवान १३८ औं समूहको आधारभूत तालिममा सहभागी ६७१ जना प्रहरी जवानहरु दीक्षित भएका छन् ।
२०७७ साल मङ्सिर ३ गतेदेखि सञ्चालित प्रहरी जवान १३८ औं समूहको २ सय ३४ कार्यदिनको आधारभूत तालिमपश्चात मङ्गलबार प्रशिक्षार्थीहरूलाई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानीको प्राङ्गणमा १ नम्बर प्रदेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
प्रहरी जवान १३८ औं समूहको आधारभुत तालिममा सहभागी १३३ जना महिलासहित ६७१ जना प्रहरी जवानहरु दीक्षित भएका हुन । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा ४८० जना, १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण रानीमा ९६ जना र दंगा नियन्त्रण प्रहरी गण दुहवीमा–९५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिई १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा संयुक्तरुपमा दीक्षित गरिएको हो ।

दीक्षान्त समारोहमा तालिम केन्द्रका सह समादेशक प्रहरी नायव उपरीक्षक विनोद शर्माले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यमान कानुन र प्रहरी युक्ती तथा कारवाहीलगायतका विषयमा प्रशिक्षण दिइएको जानकारी राएका थिए । दीक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले शब्दमा सपथ ग्रहण गराएकी थिइन् ।
प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिइएको चरणगत परीक्षाको प्राप्ताङका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान उत्तमकुमार मगर लगायत विभिन्न ८ विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरुलगायत तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिसीले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए । उनले कार्यक्षेत्रमा मन, वचन र कर्मले निष्ठापूर्वक, इमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन आग्रह गरे ।
दीक्षान्त समारोहमा तालिम केन्द्रकी समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीले धन्यवाद ज्ञापन गरेकी थिइन् । ९ महिनाको आधारभूत तालिम अवधि समाप्त गरी दीक्षित भएका ६ सय ७१ जना प्रहरी जवानहरुलाई उनीहरुको आ–आफ्नो कार्य क्षेत्रमा खटाइनेछ ।
