धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि सबै सेवा ठप्प पार्ने चेतावनी दिइएको छ ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले यस्तो चेतावनी दिएको हो । उनीहरुले आइतबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्नेलगायत ६ बुँदे सहमति गरेको थियो तर त्यो सहमति ३० दिन बितिसक्दा पनि कार्यान्वयन भएको समितिको भनाइ छ । संघर्ष समितिले गत शुक्रबार एकहप्ते अल्टिमेटम दिए र आइतबारदेखि थप कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ । गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षाबाहेक अन्य सेवा बन्द गर्ने चेतावनी दिएको हो ।
‘खासमा भन्ने हो भने हाम्रो आन्दोलन लगातार छ, सरकारले छाविन समिति गठन गरेर प्रतिवेदन पनि निकाल्यो तर कार्यान्वयनमा चासो नै दिइएन’, संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले भने, ‘दबावकै लागिभएपनि सबै सेवा ठप्प पार्छौं ।’

प्रतिष्ठान शुद्धीकरणको माग गर्दै संयुक्त संघर्ष समिति विगत ८० दिनदेखि आन्दोलन गर्दै आएका छन् । समितिमा प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी छन् ।
प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमितता तथा पदीय आचरण विपरीत कार्य गरेका पदाधिकारीका विषयमा मन्त्रिपरिषद् कार्यालयका सचिब डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा छानविन समिति गठन गरिएकोमा उक्त समितिले पदाधिकारी (उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार तथा अस्पताल निर्देशक) को असक्षमताका कारण प्रतिष्ठान धरासायी भएको भन्दै उनीहरुलाई कारवाही समेतको सिफारिस सहितको प्रतिवेदन बनाएको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोहि प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो ।