धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकको लापरवाहीका कारण एक महिलाको मृत्यु भएको छ ।
शनिबार बिहान प्रतिष्ठानको आकस्मिक कक्षमा धरान वडा नं. २० विष्णुपादुकाकी ४१ वर्षीय फूलमाया राईको निधन भएको हो ।
उपचारमा लापरवाही गर्ने चिकित्सकहरु र कर्मचारीहरुलाई कारवाही हुनुपर्ने पीडितपक्षको माग रहेको छ ।
भदौ १७ गते बिहीबार बिहानदेखि नै पेट दुख्ने र वान्ता हुन थालेपछि बिरामीलाई उपचारको लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । बिहीबार बेलुका ५ बजे उपचार गराउँदा बिरामीको दुई वटै मिर्गौलामा भिडियो एक्सरेबाट १५.३ एमएमको र पित्तथैलीमा ७ एमएमको पत्थर देखिएको थियो ।
उपचार गराउँदा सम्बन्धित चिकित्सकको उपस्थित नभएको, राम्रोसँग बिरामीको उपचार नगरी शुक्रबार डिस्चार्ज पुर्जी दिएको आफन्तले बताएका छन् । बिरामीलाई घरमा लगि प्रेप्सक्रिप्सन गरिएको औषधीहरु सेवन गराउँदा बिरामीको अवस्था खराब हुँदै गएका कारण पुनः प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको उनीहरुले बताएका छन् ।
शनिबार बिहान ३ बजे आकस्मिक कक्षमा भर्ना गरिने बित्तिकै महिलाको निधन भएको हो । सम्बन्धित चिकित्सकले नहेरेको कारण बिरामीको निधन भएको आफन्तको भनाई छ । मृतक महिलाकी नन्ददुर्गा राईले लापरवाही गर्ने चिकित्सकमाथि कडा कारवाही तथा छानविन गर्नुपर्ने माग राख्दै इमरजेन्सी अस्पतालका डेपुटी डाईरेक्टर दिव्यराज मिश्रलाई दरखास्त पत्र बुझाइन् ।
उनले स्वास्थ्य मन्त्रालय रामशाह पथ काठमाडौं, सामाजिक विकास मन्त्रालय प्रदेश १ विराटनगर, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसियन धरान शाखालाई बोधार्थ पत्र बुझाएको बताइन् ।
प्रतिष्ठानमा चिकित्सकको लापरवाहीको कारण महिलाको निधन भएको खबर पुगेपछि मेयर तिलक राई पनि त्यहाँ पुगेका थिए । मेयर राईले तुरुन्तै छानविन गर्नुपर्ने बताउँदै छानविन समितिले पीडितपक्षलाई वार्तामा बोलाएर मनाएर पठाउन आग्रह गरे ।
पीडित पक्षले छानविन समितिले वार्तामा नबोलाएसम्म मृतक महिलाको शव नलाने अडान लिएका छन् । शव मर्चरीमा लगेर व्यवस्थापन गरिएको छ । प्रतिष्ठानका छानबिन समितिले पीडित पक्षसँग भोली (आइतबार) वार्तामा बस्ने आश्वासन दिएको छ ।