धरानः धरान–११ को आधारभूत स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको छ ।
शनिबार मेयर तिलक राईले सुनौलो मार्गमा निर्माण गरिएको आधारभूत स्वास्थ्यचौकी भवनको उद्घाटन गरिएको हो । स्वास्थ्य चौकी भवन दीपादिल कन्ट्रक्सनले ४३ लाख ६२ हजार १ सय ३० रुपैयाँ ७२ पैसामा (भ्याट, पिएससहित) निर्माण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राईले धरानबासीहरुले सामान्य रोगको उपचारबाट बञ्चित भई आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आधारभूत स्वास्थ्यचौकी भवन स्थापना गरिएको बताए । मेयर राईले भवनलाई विस्तारै बढाउँदै लगेर प्रसुति गृह लगायत सञ्चालन गरिने बताए । उपमेयर मञ्जु भण्डारीले उपमहागरपालिकाले स्वास्थ्यचौकी भवन बनाइदिएको, कर्मचारी खटाउने बताउँदै यसको संरक्षण गर्ने जिम्मेवारी नागरिकको भएको बताइन् ।
कार्यक्रममा वडाध्यक्ष बाबुलाल लामा, उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, वरिष्ठ इञ्जिनियर सुरज श्रेष्ठलगायतले बोलेका थिए ।
