Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका डाक्टरले काम छाडे

हाम्रो कोशी आवाज
भाद्र २० २०७८, आइतबार
धरानको बीपी प्रतिष्ठानका डाक्टरले काम छाडे

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, प्राध्यापक र कर्मचारीले काम गर्न छाडेका छन् ।
अत्यावश्यक बाहेकका सेवा छाडेको उनीहरुले जानकारी दिएका छन् । गत बिहीबार नै उनीहरुले पत्रकार सम्मेलनमार्फत् आइतबारदेखि काम छोड्ने जानकारी गराएका थिए ।
आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्नेलगायत ६ बुँदे सहमति गरेको तर त्यो सहमति ३० दिन बितिसक्दा पनि कार्यान्वयन नभएपछि काम छोड्नुपरेको जनाएको छ । गठित उच्चस्तरीय अध्ययन कार्यदलले तयार पारेको स्थलगत प्रतिवदेन सार्वजनिक भइसक्दा पनि दोषी देखिएकामाथि कुनै कारबाही नभएको भन्दै संघर्ष समितिले आकस्मिक सेवा, कोभिड र यसअघि तय भएका परीक्षाबाहेक अन्य सेवा बन्द गर्ने चेतावनी समेत दिएको थियो ।
‘खासमा भन्ने हो भने हाम्रो आन्दोलन लगातार छ, सरकारले छाविन समिति गठन गरेर प्रतिवेदन पनि निकाल्यो तर कार्यान्वयनमा चासो नै दिइएन’, संयुक्त संघर्ष समितिका संयोजक डा. एसपी रिमालले भने, ‘चासो नदिइएपछि काम छोड्न बाध्य भयौं, दबावकै लागि भएपनि काम छोडेका हौं ।’
प्रतिष्ठान शुद्धीकरणको माग गर्दै संयुक्त संघर्ष समिति विगत ८२ दिनदेखि आन्दोलन गर्दै आएका छन् । समितिमा प्रतिष्ठानका सम्पूर्ण पेशागत हकहितका संगठनहरु फ्याकल्टी (मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल) कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थी सहभागी छन् ।
प्रतिष्ठानमा भएका भ्रष्टाचार, अनियमितता तथा पदीय आचरण विपरीत कार्य गरेका पदाधिकारीका विषयमा मन्त्रिपरिषद् कार्यालयका सचिब डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा छानविन समिति गठन गरिएकोमा उक्त समितिले पदाधिकारी (उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार तथा अस्पताल निर्देशक) को असक्षमताका कारण प्रतिष्ठान धरासायी भएको भन्दै उनीहरुलाई कारवाही समेतको सिफारिस सहितको प्रतिवेदन बनाएको थियो । यस्तै, स्वास्थ्य मन्त्रालयद्वारा गठित वार्ता टोलीले समेत सोहि प्रतिवेदनका आधारमा पदाधिकारी बर्खास्त गर्ने लगायत ६ बुँदे सहमति गरेको थियो ।
यसअघि आन्दोलन नरोकिएपछि प्रतिष्ठानका रजिस्ट्रार डा. मोहनचन्द्र रेग्मीले भदौ ११ गते पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: भाद्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend