धरानमा कभर गीतको म्युजिक भिडियोमा अभिनय गर्दै धरानका युवायुवती । तस्वीर फाइलः हाम्रो कोशी आवाज
धरानः धरानकी विनिषा राई नृत्य भनेपछि हुरुक्कै हुन्छिन् । स्कुलस्तरदेखि नै नृत्यमा लगाव भएकी उनी हालसम्म पनि नृत्यमै जोड दिइरहेकी छिन् । ‘खासमा नृत्य सानैदेखि मन पर्ने हो’, उनले भनिन्, ‘नृत्य विधालाई अहिलेसम्म छोड्न सकेकी छैन ।’
उनले आधा दर्जन बढी कभर सङ्गमा नृत्य समेत पस्किसकेकी छिन् भने धरानस्थित सुनाखरी एकेडेमीमा पढ्दा नृत्य गरेरै धेरैपटक प्रथम स्थान हासिल गरिसकेको उनी बताउँछिन् । ‘जिल्ला, क्षेत्रीयस्तरमा भएका विभिन्न नृत्य प्रतियोगितामा भाग लिएर प्रथम स्थान हात पारिसकेको छु’, उनले भनिन्, ‘यही विधामै जम्दै जाने सपना बुनेकी छु ।’ उनले कतिपय भिडियोमा कोरियोग्राफीको काम समेत गर्दै आएकी छिन् ।
धरान नृत्यमा जम्दै गएको कलाकर्मीहरु बताउँछन् । ‘खासमा नृत्यमा धरान अब्बल छ’, धरानस्थित युनाइटेड डान्स एकेडेमीका सन्तोष तामाङ भन्छन्, ‘धरानको नृत्य भनेपछि पूर्वका विभिन्न जिल्ला (धनकुटा, मोरङ, झापालगायतका जिल्ला) मा समेत अफर आउने गरेको छ ।’
केही व्यवसायिकतासँगै संस्कार, संस्कृति झल्काउन खोजिएकोले पनि नृत्य जम्दै गएको गरिमा डान्स सेन्टरकी सञ्जु राई बताउँछिन् । ‘जतिसुकै आधुनिक भएपनि संस्कार, संस्कृतिमा धरान अगाडि छ’, उनले भनिन्, ‘यही संस्कार, संस्कृतिलाई फोकस गर्ने खालका नृत्य पस्किइँदा पनि धराने नृत्य जम्दै गएको मेरो धारणा छ ।’ उनले धरानमा नृत्य व्यवसायिक बन्दै गएको बताउँछिन् ।

कोरोनाले मार
कोरोनाका कारण आफूहरुको व्यवसाय धराप हुनुका साथै कलाकर्मी नै विस्थापित हुनुपरेको गुनासो निर्देशक तामाङको भनाइ छ । ‘खासमा कोरोनाले व्यवसाय धराप त भयो नै तर नृत्यङ्गना समेत विस्थापित हुनुपर्ने अवस्था आएको छ’, उनी भन्छन्, ‘सबैथोक खुलिसके अब यस्ता कार्यक्रममा पनि रोक लगाउन हुँदैन, हामी आफैं स्वास्थ्य मापदण्ड अपनाएर यसलाई अगाडि बढाउन चाहन्छौं ।’
विनिषाले पनि नृत्य प्रतियोगितालगायतका अन्य कार्यक्रम नहुँदा आफ्नो प्रतिभा मर्दै जाने हो कि भन्ने चिन्ता थपिन थालेको बताइन् । ‘लगभग दुई वर्ष भयो, प्रतियोगितात्मक कार्यक्रम हुन छाडे’, उनले भनिन्, ‘यसको कारण आफ्नो प्रतिमा मर्दै जाने हो कि भन्ने चिन्ता थपिँदो छ ।’ स्थानीय बाल सञ्जालकी सदस्य समेत रहेकी उनले धरानमा नृत्यलगायतका मनोरञ्जनका गतिविधि हुनुपर्ने र बालबालिकाले प्रतिभा प्रष्फुटन गर्न पाउनुपर्ने माग गरिन् । ‘बालबालिकाहरु विशेषतः अहिले घरमै थुनिएर, अनलाइन कक्षा लिएर बित्दै गएको छ’, उनले भनिन्, ‘स्कुलहरुले पढाउने मात्रै होइन बेलाबेलामा यस्ता मनोरञ्जनका कार्यक्रम, बाल प्रतिभा प्रष्फुटन हुने कार्यक्रमलाई अघि बढाउन जरुरी छ ।’

नृत्यकलाबाट आम्दानी गुम्दै गएको र व्यवसाय नै धरापमा परेको सञ्जु बताउँछिन् । विभिन्न सभा, समारोह, विवाह, पार्टीलगायतका कार्यक्रममा पनि नृत्य गर्न डाकिने गरिन्थ्यो तर अहिले कोरोनाकै कारण रोकिएको सञ्जु बताउँछिन् । ‘यसले एकातिर बालबालिका र किशोरकिशोरीको प्रतिभा प्रष्फुटन हुन्थ्यो भने अर्कोतिर पाउने केही पुरस्कारले राहत समेत हुन्थ्यो तर अहिले यस्तो कार्य ठप्प हुँदा सबैजसो नृत्यमा रमाउने बालबालिका, किशोरी मारमा छन् ।’
नृत्यलाई नै पेशा बनाउँदै आएकी सरस्वती योगी स्कुल नलाग्नु, नृत्यका गतिविधि ठप्प हुँदा आफूहरुलाई समस्या पर्दै गएको बताइन् । ‘म नै स्कुले बालबालिका, किशोरकिशोरीलाई नृत्य सिकाउँदै निर्भर छु’, उनले भनिन्, ‘कोरोना कहरले यो व्यवसाय नै ठप्प छ, कसरी बाँच्ने भन्ने चिन्ता थपिँदै गएको छ ।’ गरिमा डान्स सेन्टरका नृत्य निर्देशक मणिकुमार राई कोरोनाका कारण नृत्यकला व्यवसाय धरापमा पर्दै गएको बताउँछन् । ‘गरिमामा धेरैजसो स्कुले विद्यार्थी नृत्य गर्न आइपुग्छन्’, उनले भने, ‘अहिले न त स्कुल लागेको छ, न त नृत्यका अन्य गतिविधि नै सक्रिय छन्, त्यसैले यो व्यवसाय धरापमा परेको मैले महसुस गरेको छु ।’
उनले नृत्यकलालाई मनोरञ्जनकै रुपमा हेर्ने दृष्टिकोण रहेको बताए । ‘नृत्यकला मनोरञ्जनकै रुपमा हेरियो’, उनी भन्छन्, ‘यो राम्रो होइन, यो पनि व्यवसाय हो, यसमै पनि धेरै निर्भर छन् तर ठप्प हुँदा यो व्यवसाय नै धरापमा परिररहेको छ ।’


