धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा ठप्प भएपछि केही दल विरोधमा उत्रिएका छन् ।
संयुक्त सङ्घर्ष समितिले आन्दोलन गरेर ओपिडीलगायतका सेवा ठप्प पारेपछि आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको दलहरुले जनाएका छन् ।
नेकपा एमाले, राप्रपा र सङ्घीय लिम्बुवानले प्रतिष्ठानमा प्रदर्शन समेत गरेका छन् । प्रदर्शनका क्रममा प्रहरी र उनीहरुबीच झडप समेत भएको थियो ।
यसैबीच उपकुलपति कार्यालय अगाडि लगाइएको तोडिएको छ । आफूहरु शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले जानकारी दिए । आक्रोशित युवाहरुले ताला तोडेको उनले जानकारी दिए । ‘खासमा ओपिडीलगायतका सेवा खोलियोस् भनेर शान्तिपूर्ण ढङ्गले प्रदर्शन गएका थियौं’, नेकपा एमाले धरान नगरका अध्यक्ष हर्कजङ्ग एभेङले भने, ‘तर झडपकै स्थिति आएकै हो, हामी त उपकुलपतिको कार्यालयअगाडिसम्म त पुगेनौं, केही युवा गएर ताला तोडेछन् ।’
आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला लिम्बूवान, एमाले र राप्रपाका युवाहरुले खोलेको उनले जानकारी दिए । ताला तोड्ने क्रममा एक युवा घाइते समेत भएका छन् ।

केहीबेर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । प्रतिष्ठानको डेण्टल गेट तथा मूल गेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आइतबार मात्रै एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले विज्ञप्ति जारी गरेर उपचार सेवा बहिष्कार गर्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए । प्रतिष्ठानमा विगत दुईदिनदेखि ओपिडी सेवा ठप्प छ । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा हुन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिष्ठानको सेवा सञ्चालन गर्न अनुरोध गरिसकेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आन्दोलरत पक्षलाई प्रतिष्ठानका अधिकांश माग भइसकेकाले स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील ठाउँको सेवा सुरु गर्न आग्रह गरेका छन् ।
मन्त्रालयले प्रतिष्ठानको समस्या पहिचान तथा छानविन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । सो समितिले तयार पारेको प्रतिवेदनसमेत पेस गरिसकेको र सोही प्रतिवेदनका आधारमा प्रतिष्ठान सुधार गर्नतर्फ मन्त्रालय लागिपरेको समेत उनले बताए ।