धरानः आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर आज देशभर संविधान दिवस मनाइँदैछ । संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।
तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।
नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।
वर्तमान सरकारले संविधानको कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत विषयलाई सम्बोधन गरेको छ भने सङ्घीयताको कार्यान्वयनका लागि आवश्यक पहल र प्रयत्न गरिरहेको छ ।
प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले संविधानको मर्म र भावनालाई आत्मसाथ गदैं मन, वचन र कर्मले प्रदेश १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेश १ वासीलाई आह्वान गरेका छन् ।
संविधानको पूर्ण कार्यान्वयन, प्रदेशको समृद्धि र सुखी नागरिकको अपेक्षासहित संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को शुभकामना सन्देश जारी गदैं उनले यस्तो आह्वान गरेका हुन् । ‘जनताको अथक योगदान, अधिकारको खातिर गरिएको बलिदानीले जनताकै प्रतिनीधिहरु मार्फत धर्म निरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधीत्वको सुनिश्चितासहितको संविधान हामीले पाएका छौं ।’ आइतबार जारी सन्देशमा भनिएको छ, ‘यही संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सूत्रमा बाधेको छ ।’ प्रदेशलाई सामाजिक, आर्थिक समृद्धिसहितको विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको उनले बताएका छन् ।