इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा उराव समुदायले आफ्नो महान पर्व करम पूजा हर्सोल्लासका साथ मनाएका छन् ।
सोमबार करमको अवसरमा पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यहाँ बसोबास गर्ने उराव समुदायहरुले आफ्नो महान पर्व करम पूजाको अवसरमा पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान सुनसरी इनरुवाको आयोजनामा करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुनसरीका उरावहरुले एक आसिमा शुभकामना साटासाट गरी र सांस्कृतिक कार्यक्रम र जमरा लगाएर करम पुजा सम्पन्न गरेका छन् ।
उराव समुमदायका पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारी, हातमा चाँदीको चुरा, घाँटीमा हसुली, तिलहरी, पाखुरामा गोफ (गहना) सहित सजिएर सहभागी भएका थिए ।
उराव पुरुषहरु धोती, गम्छाको पगरी र आफ्नै पहिरणमा र महिलाहरुले रातो र सेतो सारी सहित सजिएर प्रतिष्ठानको भवन तथा संग्राहलयको मैदानमा करम पूर्वसन्ध्या कार्यक्रममा सहभागी भएका छन् । उरावहरुको महान पर्वको बारेमा सन्देश दिने, भाषाको संरक्षण गर्ने र मौलिकता पदर्शन गर्ने उदेश्यका साथ कार्यक्रम गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उरावले जानकारी दिए । विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका मनाइने करम पूजाले उरावहरुलाई जोड्ने भएकाले पूर्व सन्ध्या कार्यक्रम गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उरावले बताए । सहभागीहरुले उरावहरुको हक, अधिकार र पहिचानका लागि सबैको तर्फबाट सबै खालका सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् । यसैबीच करम पर्वको अवसरमा सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकासहित कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएको छ ।

सुनसरीको १२ पालिकामध्ये उरावहरुको बढी बसोबास रहेको इनरुवा नगरपालिकासहित तीन गाउँपालिकाले सोमबार सार्वजनिक विदा दिएकाले प्रतिष्ठानका अध्यक्ष बेचन उरावले धन्यवाद ज्ञापन गरे ।
यसैबीच उरावहरुले करम राखेको दिनदेखि नै दैनिक अखडा(मञ्च) मा आफ्नो पहिरनसहित नाचगान गर्ने, प्रवचन भन्ने लगायतका कार्यक्रम गर्दै करम पूजा गरिरहेको उराव समुदायका शिक्षक सम्पतलाल उरावले जानकारी दिए ।
करम पूर्व सन्ध्या कार्यक्रममा आफ्नो कला कौशल, गीत नृत्य, पहिरण, बाजागाजा, पोशाक, मौलिक हातहतियार, कृषि औजार, जीविकोपार्जन गर्ने सामग्री (माछा मार्ने जाल, भाडो, खुर्पी, कोदालो, हल्लो) सहितको प्रदर्शन गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सचिव रामलाल उरावले जानकारी दिए । प्रतिष्ठानका सल्लाहकार जयकुमार उरावले करम पूजा उराव जातिको मुख्य चाड रहेकाले अहिलेका पुस्ता र पुराना पुस्ताहरुबीचमा रहेको पुस्तान्तरणलाई समेत एक ठाउँमा ल्याएर वर्तमानमा विगतका परम्पराहरुलाई संरक्षण गर्ने गरी करम पूर्व कार्यक्रम गरिएको बताए ।
प्रतिष्ठानका कोषाध्यक्ष सम्पतलाल उरावले नेपालीको ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको उरावहरुको कला, कौशल प्रदर्शन गर्नका लागि करम पूर्व सन्ध्या कार्यक्रम गरिएको बताए । करम पूर्वसन्ध्या कार्यक्रममा इनरुवा नगर उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा २ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद यादव, इनरुवा–५ का वडा अध्यक्ष अन्जनी पोखरेल सहित विभिन्न दलका प्रतिनिधि, जनप्रतिनिधिहरु र उराव समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा देवप्रकाश उराव, जयप्रकाश उराव, दुर्गा उराव र रामलाल उरावसहितको उपस्थिती रहेको थियो ।
तस्वीरः जयकृष्ण यादव

