धरानः धरानस्थित बराह ग्रुप अफ कम्पनीले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै असोज १३ गते बुधबार बृहत रक्तदान कार्यक्रम आयोजना गरिने बराह ग्रुपका प्रदेश १ प्रमुख मानबहादुर विश्वकर्मा दियालीले जानकारी दिए ।
बराह सपिङ कम्प्लेक्स धरान–८ धनकुटे रोडमा सो रक्तदान कार्यक्रम बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।
बराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार एवम् संस्थापक अध्यक्ष स्व. इन्द्रकुमार लामिछाने विश्वकर्माको ६४ औं जन्म जयन्तिको अवसरमा सो रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम गरिने विज्ञप्तिमा जनाइएको छ । यसअघि पनि बराहले सामाजिक कार्यअन्तर्गत रक्तदान कार्यक्रम गर्दै आएको छ ।
बराहले धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियानअन्तर्गत २०६७ सालमा ४९ पिन्ट, २०६८ सालमा ५९ पिन्ट, २०६९ सालमा २१५ पिन्ट, २०७० सालमा ३१९ पिन्ट, २०७१ सालमा ५४ पिन्ट, २०७२ सालमा ७१४ पिन्ट, २०७३ सालमा ४६१ पिन्ट, २०७४ सालमा १ हजार ५६ पिन्ट रगत संकलन भएको थियो । त्यसैगरी २०७५ सालमा ७९७ पिन्ट संकलन गर्न सफल भएको थियो ।
ब्यवसायिक प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रमहरुमध्ये २०७४ भाद्र ३ गते २३ औं वार्षिकउत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १ हजार ५६ पीण्ट संकलनको रिपोर्टलाई नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा धरानले ब्यवसायिक प्रतिष्ठानको आयोजनामा एकदिने रक्तदान कार्यक्रममा पूर्वाञ्चलमा नै पहिलो रेकर्ड भएको र देशभरीको संकलनमा दोस्रो रेकर्ड भएको समेत जानकारी दिएको थियो ।
धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियानलाई अझ सफल बनाउन बराह गु्रप अफ कम्पनीमा रहेका २४ वटा इकाईबाट हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गरिने समेत जानकारी दिइएको छ ।