धरानः मितेरी फुटसल र सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा आयोजित च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ ।
धरान–११ मा रहेको नवकला चोकमा रहेको मितेरी फुटसलमा सम्पन्न च्यारिटेवल फुटसल प्रतियोगिताको पहिलो खेलमा च्याम्स टिम विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।
च्याम्स टिमले सिओन स्कुललाई ५–२ गोल अन्तरले पराजित गर्दै दोस्रो चरण प्रिक्वाटर फाइनलमा प्रवेश गरेको हो । खेलमा च्याम्स टिमका असिम राईले दुई र दिवस सुनुवार, रोचक दिवारीे र साजन राईले एक एक गोल गरेका थिए भने, सियोन स्कुलका तर्फबाट सुदिप तामाङ र आषिस दर्नालले गोल गरेका थिए ।
३६ वटा टिम सहभागिता रहेका प्रतियोगिताको पहिलो चरणमा १८ वटा म्याच हुने र १८ बिजेता टिम दोस्रो चरण प्रिक्वाटर फाइनलमा प्रवेश गर्ने आयोजक मितेरि फुटसलका अध्यक्ष लुकेन्द्र राईले जानकारी गराएको छ । भोलिदेखि सोमबार प्रि–क्वाटर र क्वाटर फाइनल सबै खेल हुने राईले जनाए ।
१० गते देखि १२ गतेसम्म तीनदिने प्रतियोगिताका बिजेताले नगद एक लाख ११ हजार १ सय ११ रुपैया, उपविजेताले पच्पन्न हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडी, गोलकिपर र हाइ स्कोररले जनही नगद २ हजार ५ सय रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम धरान उपमहानगरपालिकाका प्रमुख मेयर तिलक राई र फुटसलका संरक्षक ज्ञानवहादुर राईले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । मेयर राईले रेफ्रीलाई बल हस्तान्तरण गरी गोल पोस्टमा गोल प्रहार गरेपछि खेल सुचारु गरिएको थियो ।
मितेरी फुटसलका सञ्चालक एवं अध्यक्ष लुकेन्द्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी कृष्ण श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर ज्ञानेन्द्र रायमाझी, बक्सिङ संघ सुनसरीका अध्यक्ष विकासकुमार गुभाजु, सेपाकटेक्रो संघ सुनसरीका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूलगायतको उपस्थिति रहेका थियो ।