धरानः सोमबार विश्व पर्यटन दिवस । भिन्दाभिन्दै कार्यक्रमका साथ यो दिवस मनाइने गरिएको छ ।
यसैबीच धरानस्थित समिट सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीले फरक तरिकाले विश्व पर्यटन दिवस मनाएका छन् । धरानमै पहिलोपटक होटल म्यानेजमेण्ट र ट्राभल एण्ड टुरिजम विषयको पठनपाठन हुन थालेको समिटमा पढ्ने विद्यार्थीले फरक तरिकाले पर्यटन दिवस मनाएका हुन् ।
विद्यार्थी फरक तरिकाले पर्यटन दिवस मनाउँदै पर्यटन प्रवद्र्धनमा समेत गर्न लागेका छन् । आइतबार धरान–१४ स्थित बुढासुब्बा मन्दिरमा भेला भएर साकेला नाच पस्किएका उनीहरुले वसन्तपुरसम्म पुगेर नृत्य गर्दै फर्किने लक्ष्यका साथ कार्यक्रमको शुरुवात गरेका हुन् ।
विद्यार्थीमा साकेला कल्चर, नृत्यबारेमा जानकारी पनि हुने र पर्यटनको पनि प्रवद्र्धन हुने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल रमेश दाहालले जानकारी दिए । उनले धरानदेखि वसन्तपुरसम्म विभिन्न ठाउँमा फरक फरक नृत्य पस्किने बताए । ‘खासमा यो फरक मात्रै होइन, सचेतनामूलक कार्यक्रम पनि हो’, उनले भने, ‘यही भएर धरानको विजयपुरस्थित बुढासुब्बा मन्दिरमा कल्चरल नृत्य, भेडेटारमा हुर्रा नृत्य, तमोर नदीस्थित मूलघाटमा सामूहिक नृत्य, वसन्तपुरमा नेवारी कल्चर झल्किने नृत्य र धनकुटाको पाख्रिबासस्थित चिया बगानमा नृत्य पस्किँदै सोही स्थानमा वृक्षारोपणपछि मेयरसँग अन्तक्र्रियात्मक कार्यक्रम गरेर फर्किने लक्ष्य लिएका छौं ।’ विद्यार्थीको टोली आइतबार नै सो स्थानमा प्रस्थान गरिसकेको छ ।
आदिवासी जनजातिका चाडमध्ये तीव्ररुपमा अन्तरघुलित भएको पर्व हो साकेला र साकेला नृत्य । साकेला नृत्य नाच्न राई समुदायदेखि अन्य समुदायका विद्यार्थी समेत सहभागी भएको अध्यापक अनिमेस बाँस्तोलाले जानकारी दिए । ‘साकेला नाच्न अन्य समुदायका विद्यार्थी पनि अगाडि सरे, सिके पनि’, उनी भन्छन्, ‘त्यही सिकेको कुरालाई व्यवहारमा उतार्दै पर्यटन प्रवद्र्धनका लागि उनीहरुले बुढासुब्बामा साकेला प्रदर्शन गरेका हुन् ।’ विद्यार्थीले पनि सिक्नै नसकिने भन्ने कुरा नलागेको बताएका छन् । ‘खासमा साकेला सिक्नै नसक्ने भन्ने कुरा हुँदैन रहेछ, मैले धेरै प्रयासपछि सिकिसकें’, विद्यार्थी दिप्सिका लिम्बूले भनिन् ।
यसअघि विद्यार्थीले स्कुल प्राङ्गण, बगैंचाचोक हुँदै बराह ज्वेलरी अगाडिसम्मको सडकमा सरसफाइ कार्यक्रम राखिएको उनले जानकारी दिए ।
उनले होटल म्यानेजमेण्ट र टुरिजम विषयका लागि वर्षमा १० वटा कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल दाहालले जानकारी दिए । ‘कहिले होमस्टे, कहिले विभिन्न कलेज भिजिट, विभिन्न टुरलगायत पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमलाई महत्व दिएका छौं ।’ उनले भने ।
होटल म्यानेजमेण्ट र ट्राभल एण्ड टुरिजम विषयमा विद्यार्थीको आकर्षण बढेपनि कोरोनाका कारण केही असर गरेको उनले जानकारी दिए । ‘यो विषय धेरै राम्रो विषय हो तर पनि कोरोना कारण अहिले आकर्षण घटेकोचाहिँ हो तर लयमा फर्किसकेपछि यसप्रति विद्यार्थीको आकर्षण थप बढेर जानेछ ।’ उनले भने ।
तस्वीरहरुः हाम्रो कोशी आवाज










