इनरुवाः सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा ऐतिहासिकरुपमा जितिया महोत्सव शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकहीको आयोजनामा कोशी गाउँपालिका वडा नम्बर १ लौकहीमा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको हो । कोशी गाउँपालिकाका ५ वटा वडाका महिला, सहकारी संस्थाका सदस्यहरु, सम्पूर्ण वडाबासिहरु तथा गाउँटोलबासिहरुको उत्साहजनक सहभागीतामा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको संस्थाकी कविता मण्डलले जानकारी दिइन् ।
सहकारीले कोशी गाउँपालिकाको कार्यालय लौकहीको सहयोगमा मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियाको पूर्व सन्धयामा जितिया महोत्सव कार्यक्रम सम्पन्न गरेको संस्थाकी अध्यक्ष मोती मेहताले जानकारी दिइन् । सम्पन्न भएको जितिया महोत्सव कार्यक्रममा स्थानीय कलाकारहरुले धार्मिक, पौराणिक तथा अध्यात्मिक नृत्य, गायन र अभिनय गरेर सहभागीहरुलाई मनोरन्जन समेत प्रदान गरेको कार्यक्रम संचालक पवन रौनियारले बताए ।
कार्यक्रमका प्रमुख अथिति कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफूले पाकिलाभरीका दुई हजार बढी महिलाहरुलाई सहकारीमा जोड्ने काम गरेको बताए । उनले सिडिपी नामक संस्थाको प्रोजेक्टमा रहेका महिलाहरुलाई जीविकोपार्जन सहित बचत गर्न आफ्नै गाउँटोलमा सुलभमा आवश्यक पर्दा ऋण समेत लिन पाउने गरी सहकारी संस्था निर्माणमा सहयोग गरेको बताए ।

अध्यक्ष अन्सारीले साविकका ३९ वडा नागरिक सचेतना केन्द्रहरुलाई एकीकृत गरेर ११७० महिलाहरुको सामूहिक हितका लागि एउटा र अर्को २९ वटा नागरिक सचेतना केन्द्रहरुलाई एकिकृत गरेर ८३० महिलाहरुको सामूहिक हितका लागि सहकारी संस्था निर्माणमा सहयोग गरेको बताए ।
उनले अहिले कोशी महिला बचत तथा ऋण सहकारीमा २९ लाख रुपैयाँ र सप्तकोशी महिला बचत तथा ऋण सहकारीमा ३९ लाख रुपैयाँ विउँ पुँजीको रुपमा रहेकामा दुवैमा पाँच, पाँच लाख रुपैयाँ थप अनुदान दिने घोषणा गरे । उनले महिलाहरुको क्षमता, नेतृत्व र शिक्षामा पहुच भएको खण्डमा विकास हुने भएकाले आर्थिक क्रान्तिका लागि महिलाहरुको सकृयतामा बचत तथा ऋण सहकारीमा सहयोग गरेको बताए ।
उनँले पाँच वर्षमा प्रत्येक शेयर सदस्यहरुको एक लाख बढी सेयर हुने र संस्थामा करौडोको कारोबार हुने अपेक्षा आफूले गरेको बताए । कार्यक्रममा कोशीका नेपाली कांग्रेस सभापति तथा कोशी ३ का वडा अध्यक्ष सुलेमान मन्सुरी, कोशी १ का वडा अध्यक्ष राजकुमार साह, कोशी २ का अध्यक्ष द्रोपदी साह, भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अन्सारी, नेपाली काग्रेंसका नेता शत्रुधन यादव, अधिकारकर्मी रमेश भट्टराई, कोशीका उपाध्यक्ष अनिता यादव, अध्यक्षका स्वकीय सचिव धर्मेन्द्र विश्वास र गोरखापत्र दैनिकका जयकृष्ण यादव, पत्रकार पवन रौनियार सहितको उपस्थिति रहेको थियो ।