विराटनगरः ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा विभिन्न कार्यक्रमअन्तर्गत मन्दिर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा भएको सो सरसफाई कार्यक्रमअन्तर्गत मोरङको विराटनगर महानगरपालिका १६ स्थितमा रहेको दुर्गा मन्दिर सरसफाइ गरिएको हो ।
यसैबीच ब्याडमिन्टन र टेबलटेनिस खेलकुद प्रतियोगिता पनि आयोजना भएको छ ।
डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीको प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टनतर्फ १६ टिम, डबल टेबलटेनिसतर्फ १५ टिम र सिंगल टेबल टेनिसतर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो ।
डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसी र प्रहरी जवान जनम राई रहेका छन् भने उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक खगेन्द्र एक्तेन र प्रहरी नायव निरीक्षक बुद्धि दराई रहेका छन् ।
त्यस्तै डबल टेबलटेनिसतर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र मानबहादुर राजबंशी रहेका छन् भने सिंगल टेबलटेनिसतर्फ बिजेता सोही केन्द्रका प्रहरी हवल्दार आशाराम चौधरी र उपबिजेता प्रहरी सहायक निरीक्षक देवीप्रसाद ढकाल रहेका छन् । खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने प्रहरी दिवस २०७८ को अवसरमा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको प्रहरी निरीक्षक नविनराज राईले जानकारी दिए ।
