धरानः चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरुलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु गर्न थालेको छ ।
आइतबार धरान वडा नं. १६ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै वडाका टोल विकास संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुलाई कुनै पनि सामान खरिद गर्दा सचेत रहन आग्रह गरेको छ । उनीहरुलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख काशिनाथ घिमिरेले आवश्यक परेको खण्डमा खाद्य स्वच्छता सम्बन्धि प्राविधिक शिक्षा दिने बताउँदै प्रोजेक्टरमार्फत् खाद्य स्वच्छता, गुणस्तरीय वस्तु उपभोग गर्न, पोषण शिक्षाको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले उपभोक्ताहरुलाई कुनै पनि सामान खरिद गर्दा उत्पादन भएको मिति, सकिने मिति र त्यससँगै लेखिएको मूल्य हेरेर मात्र खरिद गर्न आग्रह गरे । मेयर राईले यसबारेमा बेलाबेलामा सचेतनामुलक कार्यक्रमहरु गरेर उपभोक्ताहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए । मेयर राईले व्यापारीहरुलाई सचेत गराउने जिम्मेवारी नै उपभोक्ताहरुको रहेको बताउँदै सबै कुरामा ग्राहक नै सक्षम हुनुपर्ने बताए ।
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाले संघले धरानलगायत सुनसरीका धेरै स्थानहरुमा गत वर्षदेखि नै यस्तो सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिए । व्यवसायी र उपभोक्ताहरुबाट पनि कमिकमजोरी हुनसक्ने बताउँदै अध्यक्ष सापकोटाले कसैको हल्लाको पछि लागेर आवश्यकता भन्दाबढी खाद्य सामाग्री सञ्चित नगर्न पनि आग्रह गरे । उनले कुनैपनि सामान खरिद गर्दा लेवलिङ हेरेर मात्र सामान खरिद गर्न आग्रह गरे । सोही वडाका वडाध्यक्ष दिलकुमार गिरीले खाद्य स्वच्छतासम्बन्धी यहाँका टोल विकास संस्था र उपभोक्ताहरुले थाहा पाउन जरुरी रहेकोले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।