विराटनगरः प्रदेश १ सभाको नवौं तथा हिउँदे अधिवेशनको तेश्रो बैठक शुक्रबार अर्थात् आज बस्दैछ ।
प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीसमक्ष सूचना दिएका थिए ।
नेकपा एमालेका १० सांसद एकीकृत समाजवादीमा गएको सूचना निर्वाचन आयोगले भदौ २५ गते प्रदेशसभामा दिएको थियो । मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट जसरी पनि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन वन तथा वातारण मन्त्री लछुमन तिवारीले बताए ।
मुख्यमन्त्री आचार्यलाई विश्वासको मत लिनका लागि ४६ सांसद आवश्यक हुन्छ । प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० सांसद छन् । ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका ४१ जना मात्र सांसद छन् । प्रदेशसभामा काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकिकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् ।
नेपालको संविधान २०७२ को धारा १८८ (२) मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने’ व्यवस्था छ ।
नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । राईलाई पाँच दलीय गठबन्धनले दशैंअघि नै मुख्यमन्त्री बनाउनेबारे छलफल गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्ताव राखेपछि सबै सांसद मिलेर विफल बनाइने बताए । विपक्षीले भने मुख्यमन्त्री आचार्य र एमाले नेतृत्त्वको सरकार अल्पमतमा परिसकेपछि पनि सत्ता लम्ब्याउने तानाबाना बुन्न सक्रिय रहेको आरोप लगाउँदै आएका छन् । भदौ ९ मा एमाले विभाजित भएको थियो । त्यसको भोलिपल्ट शेरधन राईले राजीनामा दिई भीम आचार्य एमाले संसदीय दलको नेता र मुख्यमन्त्री बनेका हुन् ।