धरानः धरानमा गएको असोज ३१ गते रातिदेखि परेको अविरल वर्षाका कारण बाढी तथा पहिरोबाट धरान उपमहानगरपालिका क्षेत्रभित्र पुरयाएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन गर्ने सन्दर्भमा नगर विपद व्यवस्थापन समितिको आयोजनामा समीक्षात्मक बैठक बसेको छ ।
शुक्रबार धरान उपमहानगरपालिकाका मेयर एवं नगर विपद व्यवस्थापन समितिका संयोजक तिलक राईको अध्यक्षतामा विपद् व्यवस्थापन गर्ने सम्बन्धमा सर्वपक्षीय बैठक बसी समीक्षात्मक छलफल गरेको हो । बैठकमा मेयर राईले नगरपालिकामा छलफल गरी मृतकका परिवारलाई २५ हजार रुपैयाँ दिने जानकारी गराए । गत मङ्गलबार धरानमा परेको अविरल वर्षाको कारण घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन् ।
मेयर राईले भने, ‘संघीय, प्रदेश सरकारले मृतकका परिवारलाई केही रकम दिने घोषणा गरिसकेको अवस्था छ, नगरपालिकामा छलफल गरेर हामी पनि २५ हजार रुपैयाँ दिन्छौं ।’ गत बुधबारदेखि क्षति न्यूनीकरण, लगत संकलन तथा व्यवस्थापनमा लागिरहेको समेत मेयर राईले बताए ।

बैठकमा इञ्जिनियर रोशन गिरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र भएका क्षतिको बारेमा जानकारी गराएका थिए । यस्तै, वडाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको समेत उपस्थिति थियो । उनीहरुले धरान २० स्थित २२० केभी लाइनले समस्या भएको, नगरपालिकाले अनुगमन गर्नुपर्ने, तामाखाम सडक खण्डको ५५ एच टावर खन्दा निस्केको माटोले तामाखाम सडक अवरुद्ध साथै बस्ति जोखिम परेको, ५६ एच टावर खन्दा सेछ पार्कमाथि लगाएको ग्याभिनवाल झरेको र पहिरो गएको, आहाले जाने सडक जोखिम रहेको, विष्णुपादुका जाने सडक अवरुद्ध, सालबोटे पहिरोको छेउमा एक घर जोखिममा रहेको बताएका थिए ।
यस्तै, बैठकमा विपद प्रतिकार्य योजना तयार गर्नुपर्ने, मसाने खोलाको व्यवस्थापन गर्नुपर्ने, कल्भर्ट ठूलो बनाउनुपर्ने, खोला सिधा बनाउनुपर्ने, सुमनटार क्षेत्रमा उत्खनन कार्यमा निषेधित क्षेत्र घोषणा गर्नुपर्ने, भित्तामा कटिङ गरेर घर बनाउँदा जोखिम हुने (शिवधारा), सुलिकोट पहिरो रोकथाम गर्नुपर्ने, खोला संरक्षणको गुरु योजना तयार गर्नुपर्ने, विपद व्यवस्थापनका लागि सक्रिय मेकानिजम तयार गरी क्रियाशील हुनुपर्ने, नगरपालिकामा तारजाली स्टक गरि राख्नुपर्ने, नगरपालिकाले जेसिवी खरिद गरिराख्नुपर्ने, जेसिवी, स्क्याभेटरको लगत राख्नुपर्ने बताएका थिए ।
उपमहानगरपालिकाका विपद व्यवस्थापन तथा वातावरण प्रमुख भेषराज घिमिरेले अत्याधिक वर्षा हुँदा खोलानालामा बाढी आएर बस्तीतिर पस्ने हुनाले विपद जोखिमका घटना हुने गरेको बताए ।
‘कटान हुँदा पहिरो जाने जाखिम क्षेत्र पहिचान ठीक ढंगले नहुनु, जोखिम क्षेत्र कुन हो ? त्यो जोखिम क्षेत्रमा घर बनाउनु, खोला किनारा तथा बगरमै अव्यवस्थित तरिकाले घर बनाउनु जस्ता कुराहरु विपद जोखिम निम्तिने कारण हुन्’ घिमिरेले भने, ‘जतिबेला पनि त्यस्ता क्षेत्रमा बाढी आएपछि मानवीय क्षति हुने सम्भावना हुन्छ । पहाडी क्षेत्रमा जथाभावी रुपमा जेसिवी, स्क्याभेटर प्रयोग गर्नाले माटो कञ्जुर भएर पहिरो जाने सम्भावना हुन्छ ।’
उनले बाढीजन्य जोखिम व्यवस्थापन गर्नका निमित्त सबै नागरिकहरु सचेत हुन जरुरी रहेको बताए । कुन कुन क्षेत्रमा बस्ती बसाल्न सकिन्छ ? भन्ने कुराहरुमा पनि छलफल गर्न जरुरी रहेको उनको भनाइ छ । ‘सुरक्षित बस्तीका लागि हामीले धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । बाढीजन्य जोखिमबाट बच्नका लागि, पहिरोबाट बच्नका लागि के के गर्नुपर्ने हुन्छ ? आफ्नो बस्तीलाई कसरी सुरक्षित राख्न सकिन्छ ? भनेर अगाडिदेखि नै योजना बनाएर काम गर्न सकियो भने सम्भवत बस्तीलाई सुरक्षित बनाउन सक्छौं’, उनले भने ।
विपदका प्रकोपलाई नियन्त्रण गर्नका लागि पूर्वतयारीका कार्यक्रमहरु गर्नुपर्ने बताउँदै घिमिरेले पूर्वतयारी जति राम्रो भयो विपदका घटनाहरु पनि त्यतिनै कम हुँदै जाने जानकारी दिए । उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले अव्यवस्थित तरिकाले बसोबास गर्ने, नक्शापास नगरि घर बसोबास गर्ने, खोलानालाको क्षेत्रमा बस्ने नै विपदको जोखिममा पर्ने गरेको बताए ।