विराटनगर । बाढीले डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा आएको छ । कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजबाट सञ्चालनमा आएको हो ।
अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा अवरुद्ध थियो । उपकरणहरुको परीक्षणपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएको बेला दिउँसो मात्रै उडान भर्ने अनुमति दिएसँगै विमानस्थल सञ्चालन भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज १८ उडान हुनेछ । विहानदेखि उडान भइरहेको छ ।
विमानस्थलमा बाढी पसेपछि दुई दिन विमानस्थलका उपकरणहरुको परीक्षण गरिएको थियो । परीक्षणमा उडान योग्य देखिएपछि आजदेखि उडान सुरु भएको हो । साँझ ५ बजेसम्म मात्रै उडान गर्न पाइनेछ । हाललाई रात्रीसेवा स्थगित गरिएको हो ।