धरानः धरानमा विश्व पोलियो दिवस जनचेतनामूलक कार्यक्रम गर्दै मनाइएको छ ।
रोट्रयाक्ट क्लब अफ धरान घोपाले फोल्कल्याण्ड क्षेत्रमा रहेको दीपेन्द्र विद्यालयमा जनचेतनामूलक कार्यक्रम तथा जनरल ओपिडी विभाग बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअगाडि मैनबत्ती प्रज्वलन गरी आइतबार यो दिवस मनाएको हो ।
दिवस जोनास साल्कको जन्मको सम्झनामा पोलियोबारे सचेतना प्रदान गर्नु र पोलियो अन्त्य गर्न एक कदम नजिक पुग्न सहयोग गर्ने उद्देश्यले मनाइएको आयोजकले जनाएको छ ।

शिक्षक, विद्यार्थी र अभिभावकहरूसहित ६० लाभार्थीहरूको साथ दीपेन्द्र विद्यालयमा भएको कार्यक्रममा ५ रोट्रयाक्टर समेत सहभागी थिए । रो. ऋतिक राज पासवानले यो दिवस मनाउनुको उद्देश्य, यसको परिचय र व्याख्या गरेका थिए । रो. अनिश अधिकारीले पोलियो उन्मूलनमा रोटरी इन्टरनेशनलको योगदान, पोलियोको जोखिम कारकहरू, लक्षणहरूको बारेमा व्याख्या गरेका थिए । रो. यासिर अन्सारीले सबै सहभागी र विद्यालय समितिलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरे ।
त्यही साँझ डलाइटनिङ कार्यक्रममा रोट्रयाक्टर, इन्टरक्टर, रोटेरियन र नन रोट्याक्टरसहित ४० जना सदस्यहरुको सहभागिता रहेको थियो । रो. सिञ्जिन घिमिरे पोलियो दिवसको महत्व र पोलियोबारे जानकारी दिएर कार्यक्रमको सुरुवात गरेकी थिइन् । आर.सि.सि रोटेरियन अटुल श्रेष्ठले औपचारिकरूपमा मैनबत्ती बालेर कार्यक्रम सुरु गरे । सहभागीहरूले पनि मैनबत्ती बालेका थिए । कार्यक्रममा पोलियो रोगीहरुका लागि १० सेकेन्ड मौन धारण गरी विश्व छिट्टै पोलियो मुक्त होस् भन्ने कामना गरिएको थियो ।
