विराटनगरः प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भोलि (सोमबार) लिने विश्वासको मतको विपक्षमा पाँच दलीय विपक्षी गठबन्धनले मतदान गर्ने भएका छन् ।
गठबन्धनको आइतबार बसेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेताले यस्तो निर्णय गरेका हुन् ।
९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था छ । विपक्षी गठबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ । गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् । राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन ।
प्रदेश १ को विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।
यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको हालका मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान नै स्थगित भएको थियो । आचार्यको विश्वासको मत लिने प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची छ ।