धरानः प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् ।
विश्वासको मत नपाउने निश्चित भएपछि उनले सोमबार प्रदेशसभामै सम्बोधन गर्दै राजीनामा दिएका छन् । ‘मैले शुरूमै राजीनामा दिन सक्थे । तर जनताको बन्धनबाट म मुक्त हुन सकिनँ । कामलाई महत्वपूर्ण रूपमा राखियो,’ प्रदेशसभामा बोल्दै आचार्यले भने, ‘आलोचना गर्नेले पनि सहयोग नै गर्नुभएको छ । म आजै मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’
उनी गएको भदौ १० गते मुख्यमन्त्रीमा चयन भएका थिए । आचार्यले २ महिना ५ दिन मुख्यमन्त्री पदको जिम्मेवारी बहन गरेका छन् । प्रदेशसभाको बैठकमा राजीनामा दिने घोषणा गर्दै आचार्यले बहुमत पुराएर सरकारको नेतृत्व गर्ने नयाँ नेतृत्वलाई रचनात्मक ढंगबाट सहयोग गर्ने बताए ।
सदनमा ४१ मत रहेको एमालेले बहुमतका लागि ४७ मत पुरयाउनुपर्ने थियो । सोमबार बहुमत पुरयाउन सक्ने अवस्था नदेखिएपछि आचार्यले राजीनामा घोषणा गरेका हुन् ।
गएको दुई महिने कार्यकालमा भएका गतिविधि सदनलाई जानकारी गराउँदै आचार्यले राजीनामा घोषणा गरेका थिए । उनले राजीनामा घोषणा गरेसँगै सभामुख प्रदीपकुमार भण्डारीले मंगलबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् ।
विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् । राईलाई मुख्यमन्त्री बनाउन सांसदको हस्ताक्षर लिइएको छ ।
प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् । सोमबार दिउँसो मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारी प्यासीले नेपालको संविधानकाे धारा १६८ काे (२) बमाेजिम सरकारका लागि मंगलबार दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारीअनुसार आचार्यको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश–१ मा यसअघि विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमत छ । नेता राईले मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । मंगलबार दिउँसो १ बजेसम्मको समय दिएलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष नयाँ सरकार गठन गर्नका लागि आजै दाबी पेस गरेको हो ।
