धरानः सुनसरीको प्रसिद्ध धाम बराहक्षेत्रधाममा लागेको मेलामा भक्तजनको लर्को लागेको छ ।
बराहक्षेत्रमा कार्तिके पूर्णिमा अर्थात् बराहक्षेत्र मेला लागेको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार धुमधामका साथ मेला लागेको हो । बिहीबारदेखि नै भारतको बिहारका भक्तजनको ओइरो लागेको बराहक्षेत्र मेला व्यवस्थापन समितिका अध्यक्ष भक्त श्रेष्ठले जानकारी दिए । ‘यस वर्ष भक्तजनको लर्को लाग्यो’, उनले भने, ‘बिहीबार रातिदेखि नै झापा, मोरङ, सुनसरीलगायतका जिल्लादेखि भारतको बिहारसम्मका भक्तजन ओइरिए, विशेषतः भारतका भक्तजन नै बढी आएको पाइयो ।’
कार्तिक पूर्णिमाका अवसरमा भारतबाट भक्तजन ओइरिन्छन् भने र मकर सङ्क्रान्तिका पहाडी समुदायका मानिसहरु मकर नुहाउन पुग्ने गरेका छन् ।
बराहक्षेत्र सुनसरी जिल्लाको मात्र नभएर नेपालकै सर्वाधिक महत्वपूर्ण र प्रख्यात तीर्थस्थल मानिन्छ । यहाँ शुक्रबार स्नान गर्ने भक्तजनहरूको ठूलो घुइँचो लाग्यो । बराहक्षेत्रमा सालैभर मानिसहरूको आवतजावत र जमघट हुने नै गर्दछ भने विशेषतः कार्तिक पूर्णिमा र मकर सङ्क्रान्तिमा विशेष भीड लाग्ने गर्दछ ।
शुक्रबार नै मेलाकै अवसरमा धरान उपमहानगरपालिकामा सार्वजानिक बिदा समेत दिएको थियो ।
ब्रह्मपुराण, बराहपुराण अनि स्कन्दपुराणमा समेत उल्लेख गरिएको सनातन संस्कारको बहुतै अलौकिक अनि प्राचीन थोरैमात्र धामहरुमा बराहक्षेत्र पनि पर्दछ । महाभारतमा समेत उल्लेख भएको यो पवित्रस्थल नेपालमा अवस्थित सबैभन्दा पुरानो, पवित्र र चर्चित देवस्थलमध्ये एक हो ।
सुनसरीको धरानबाट करिब २५ किमी पर रहेको यस धाम कोकाहा र कौसीका नदिको पवित्र सङ्गम भएको कारण पनि अलौकिक नै छ । बराह अर्थात् सुँगुर, भगवान विष्णुको सुँगुरको अवतार भएको यस ठाँउको अहिलेको मन्दिरको स्वरुप भनें विसं १९९१ सालमा निर्माण गरिएको हो र यस पुर्ननिर्माण जुद्ध शम्शेरको पहलमा गरिएको तथ्य छ ।
बराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यबराह, कोकाबराह र नागेश्वर लगायतका ९ वटा मन्दिर र थुप्रै धर्मशाला छन् । त्यहाँ आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन् ।
तस्वीरहरुः शेखरनाथ जोगी
















































