धरानः धरानमा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौं’ भन्ने नाराका साथ आज ३४ औं विश्व एड्स दिवस मनाइएको छ ।
धरान उपमहानगरपालिकामा आयोजित कार्यक्रममा एचआईभी रोकथाम तथा न्यूनिकरणको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पत्रकार, चिकित्सक र अभियान्तालाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले पत्रकार विकास चाम्लिङ राई, विपी प्रतिष्ठानका ए.एस.एस. प्रोफेसर डाक्टर श्याम प्रसाद काफ्ले, ए.आर.टी. काउसिलर निशा श्रेष्ठ, अभियान्ता कृष्ण शुन्दर राई र स्व. नरेशलाल श्रेष्ठ (रञ्जना श्रेष्ठ) लाई सम्मान पत्र प्रदान गरेका थिए ।
मेयर राईले समाजमा विगतमा भन्दा अहिले एचआईभी संक्रमित बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै आएको बताए । एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण नबदलिएसम्म संक्रमितहरु खुल्न नसक्ने भएकोले उनीहरुको स्वास्थ्यमा पहुँच पु¥याउनका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने मेयर राईको भनाई थियो । मेयर राईले स्वस्थ्य जीवन जीउनु हरेक नागरिकको मौलिक अधिकार भएको बताउँदै एचआईभी संक्रमित भएर बाँचिरहेका व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले जस्तो सम्मानपूर्वक बाँच्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए । धरान पोजेटिभ समूहका उपाध्यक्ष रोमन राईले धरान उपमहानगरपालिकाका आयोजना तथा धरान पोजेटिभ समूहको संयोजनमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, सामाजिक अभियान्ता लगायत सञ्चारकर्मीहरुको उपस्थिति थियो ।