धरानः तेह्रथुमको सदरमुकाम म्याङ्लुङ बजारस्थित छकलीटारमा लिम्बूहरुको ऐतिहासिक भेला सम्पन्न भएको छ ।
लिम्बू थरगत सहजीकरण सयङहरुको संयोजन समितिको आयोजनामा सम्पन्न भेलामा १२० थरी लिम्बूहरुको सहभागिता रहेको थियो ।
यस प्रकारको भेला २०२५ सालमा यहीँ छकलीटारमा नै १० लिम्बुवान सत्र थुमको तुत्तु तुम्याङहाङहरुको उपस्थितिमा सम्पन्न भएको थियो । ५३ वर्षपछि गरिएको यो कार्यक्रम यसैको निरन्तरताको लागि रहेको छ ।
छकलीटार भेला उद्घाटन कार्यक्रममा स्थानीय समुदायको समेत उल्लेखिीनय सहभागिता रहेको थियो । छकलीटारको खेलमैदानमा आयोजित पहिलो उद्घाटन खुल्लासभा हुनुपूर्व च्याब्रुङसहितको रयालीले मेयङलुङ बजार परिक्रमा गरेको थियो ।
याक्थुङहरुको भूमी अधिकारसम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले गरिएको भेलाको प्रमुख अतिथि २०२५ सालमा पहिलो किपट अधिकारसम्बन्धी भेलामा सहभागी प्रेमभक्त तुम्खेवाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विभिन्न स्थानीय जनप्रतिनिधि तथा राजनीति दलका नेताहरुको आतिथ्यता रहेको थियो ।
उद्घाटन कार्यक्रमको अवसरमा सङ्घीय लिम्बुवान मञ्च तेह्रथुमका अध्यक्ष विजय निङ्लेकु, जसपा जिल्ला प्रतिनिधि लोकबहादुर लिम्बू, नेकपा एसका जिल्ला अध्यक्ष कृष्ण लिम्बू, माओवादी प्रतिनिधि रमेश घिमिरे, नेकपा एमालेका छत्र रिमाल, जनप्रतिनिधि आठराई गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष तेजप्रसाद कन्दङ्वा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला र मेयङलुङ नगरपालिका मेयर सञ्जय तुम्बाहाङफेलगायतले शुभकामना मन्तव्य राखेका थिए । भेला कार्यक्रम मङ्सीर १७ र १८ गतेसम्म चल्ने आयोजकले बताएको छ ।




