Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपकुलपति कार्यालय आएपछि…

हाम्रो कोशी आवाज
मंसिर २६ २०७८, आइतबार
धरानको बीपी प्रतिष्ठानका उपकुलपति कार्यालय आएपछि…

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि विरोध शुरु भएको छ ।
आइतबार कार्यकक्षमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्रवेश गर्न खोजेपछि केहीबेर प्रहरी र आन्दोलनमा उत्रिएकाहरुबीच झडप समेत भएको छ ।
प्रतिष्ठान शुद्धिकरणमा लागेका आन्दोलनकारीहरुले उपकुलपति कार्यकक्षमा प्रवेश गर्न खोजेपछि कुर्सीमा बस्ने नैतिक अधिकार नभएको भन्दै बाहिर निस्किन आग्रह गरेका थिए । उपकुलपतिले आन्दोलनकारीको आग्रहलाई नमानेपछि आन्दोलनकारीहरु उपकुलपतिको कार्यालयमा प्रवेश गर्न खोजेपछि तैनाथ प्रहरी, सेक्युरिटी गार्ड र आन्दोलनकारीबीच झडप भएको हो ।
आन्दोलनकारीहरुले सिनेटको बैठक नबसेसम्म उपकुलपति कुर्सीमा बस्न नपाउने हुनाले पनि आफूहरु थप सङ्घर्षमा उत्रिएको सङ्घर्ष समितिका संयोजक डा.एसपी रिमालले बताए । ‘डा. गिरीसहितका पदाधिकारीहरुलाई कारवाही गर्न सिफारिस गरिसकेको कारण सिनेट बैठक नभई कार्यालय प्रवेश गरेर कुर्सीमा बस्न पाइँदैन भन्ने हो,’ उनले भने, ‘त्यही कारण हामीले विरोध जनाएका हौं ।’
सर्वोच्चले नियमति स्वास्थ्य उपचारको कार्य गरिरहनुपर्ने संस्थामा हडताल, घेराउ र तालाबन्दीको कार्य सार्वजनिक हितको लागि शोभनीय नभएको भन्दै ताला खुलाई प्रतिष्ठानको काम, कारबाहीहरु सुचारु गर्न अन्तरिम आदेश दिएको छ । ‘जसमा कुनैपनि सेवा अवरोध भएको छैन, सबै उपचारको सेवा सञ्चालनमै छ’, डा. रिमालले भने, ‘जबसम्म सिनेट बैठक हुँदैन, तबसम्म पदाधिकारीहरुलाई कुर्सीमा बस्ने अधिकार छैन, हामी आन्दोलन गरेर भएपनि बस्न दिँदैनौं ।’
गत असार १६ गतेदेखि प्रतिष्ठानका चारजना पदाधिकारीहरुको कार्यकक्षमा ताला लागेको थियो । प्रतिष्ठानमा प्रतिष्ठान शुद्धिकरणका लागि भन्दै चिकित्सक, कर्मचारीलगायत आन्दोलनमा उत्रिँदा त्यतिबेला ताला लागेको थियो । त्यसविरुद्ध नवराज विष्ट नामका व्यक्तिले नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटको सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधिश तेजबहादुर केसीको एकल इजलासले मङ्गलबार अन्तरिम आदेश दिएको हो । स्वास्थ्यजस्तो संवेदनशील संस्थामा हडताल, घेराउ र तालाबन्दीको कार्य अशोभनीय रहेको भन्दै ताला खुलाइ प्रतिष्ठानको काम, कारवाही सुचारु गर्न अन्तरिम आदेश दिएको थियो । तस्वीरहरुः एलिना राई

प्रकाशित मिति: मंसिर २६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend