Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कुकुरको शौच सार्वजनिकस्थल र बाटोमा

हाम्रो कोशी आवाज
पुष ८ २०७८, बिहिबार
धरानमा कुकुरको शौच सार्वजनिकस्थल र बाटोमा

धरानः धरानमा कुकुरलाई शौच गराउन सार्वजनिकस्थलको प्रयोग गर्ने प्रवृत्ति रोकिएको छैन ।
सहरका बासिन्दा मर्निङवाकका लागि भन्दै सडक किनार वा सार्वजनिक ठाउँमा कुकुर लिएर निस्किएका भेटिन्छन् । तर, ती सहरिया शिक्षित भनिने गरेका मानिसको उद्देश्य खाली मर्निङवाक मात्रै हुँदैन । उनीहरूको उद्देश्य त कुकुरलाई शौच गराउने हुन्छ । त्यो पनि सडकका गल्ली, चौरजस्ता सार्वजनिक ठाउँमा । यसरी जथाभावी कुकुरलाई दिसा–पिसाब गराउँदा यसले हावामा ब्याक्टेरिया फैलाउँछ । जो मानव स्वास्थ्यका लागि निकै नै हानिकारक हुन्छ ।
धरानमा मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन थालेको छ । सडक, खाली जमीनलगायतका स्थानमा कुकुरको दिशापिसाब भेटिन थालेको छ । कुकुरलाई सार्वजनिकस्थलमा नभई घरैमा सुरक्षित ढङ्गबाट शौच गराउनुपर्नेमा अर्काको सार्वजनिक जग्गामा शौच गराउन ल्याउने प्रवृत्ति नरोकिएको स्थानीयबासी बताउँछन् । ‘खासमा खाली जग्गा देख्यो कि मर्निङवाक वा इभिनिङ वाकको बहानामा सार्वजनिकस्थल वा बाटोघाटो जताततै कुकुरलाई शौच गरारहेको पाइएको छ, यस्तो प्रवृत्ति रोकिनुपर्छ’, धरान–१६ का नविन राईले भने ।
धरान उपमहानगरपालिकाका वातावरण अधिकृत भेषराज अधिकारीले सामुदायिक र घरपालुवा कुकुर व्यवस्थापन समितिसम्बन्धी कार्यविधि बनाइएको बताउँदै सो कार्यविधिले नै सार्वजनिकस्थल, बाटोघाटो आदिमा कुकुरलाई दिशापिसाब गराउने कार्य रोक्ने बताए ।
धरान उपमहानगरपालिकाभित्र स्वच्छ र सफा वातावरण कायम गर्न, घरपालुवा तथा सामुदायिक कुकुरहरुबाट हुने प्रदुषण रोक्न, तिनको तथ्याङ्क राख्न, अध्यावधिक गर्न र कुकुरहरुको व्यवस्थापन गर्ने उद्देश्यले गत वर्षको माघ १९ गते ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि, २०७७’ स्वीकृत भएको थियो । घर पालुवा र सडकमा छाडा छोडिएको सामुदायिक कुकुरलाई व्यवस्थापन गर्न यो कार्यविधि तयार भएको हो । बनाइएको कार्यविधिमा कुकुर व्यवस्थापनमा आनाकानी गरे वा दर्ता नगरेपनि कारवाही गर्न सक्नेसम्मको व्यवस्था छ ।
कुकुरको शौचबाट आउने ब्याक्टेरियाले मानिसलाई गम्भीर प्रकारको रोग लाग्ने चिकित्सक बताउँछन् । एक अध्ययनअनुसार एउटा कुकुरले वर्षको औशत २७४ पाउन्ड (एक लाख २४ हजार २८४ ग्राम) दिसा गर्छ । कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् ।
एउटै कुकुरको दिशा जथाभावी फालियो भने एक वर्षमा २८ अर्ब ५८ करोड ५३ लाख २० हजार त्यस्ता हानिकारक ब्याक्टेरिया फैलिने जानकारको भनाइ छ । कुकुरको दिसाबाट ह्वीपवर्म, हुकवर्म, राउन्डवर्म, टेपवर्मजस्ता जुकाका अण्डा मानिसको शरीरमा प्रवेश गर्ने बताइन्छ ।
कुकुरको दिसापिशावबाट मानव जीवनमा गम्भीर प्रकारको रोग निम्त्याउने भएकाले घरपालुवा कुकुर र सामुदायिक कुकुरको व्यवस्थापनमा उपमहानगरपालिका लागिपरेको धरान उपमहानगरपालिकाअन्तर्गतको पशु सेवा शाखाका भेटनरी कन्सल्टेण्ट डा. बिर्खराज राई बताउँछन् । ‘कुकुर पाल्ने हो भने आफ्नै एरियामा दिशा पिसाबलगायतका कार्य गर्नुपर्छ’, उनले भने, ‘यसो नगरे सहर नै प्रदुषण हुने जोखिम रहन्छ ।’
चिकित्सकका अनुसार कुकुरको दिशाले नाम्लेकिराको जोखिम रहन्छ भने कलेजोमा समस्या हुने हुन्छ । कतिपय अवस्थामा त्यो नाम्लेकिरा मानिसको दिमागमा गएर बस्न सक्छ । यो निकै हानिकारक हुन्छ । यसले गर्दा, टाउको बेस्सरी दुख्ने, रिगंटा लाग्ने, बेहोस हुने हुन्छ । यसबाहेक, आँखा धमिलो हुने, छाला पहेँलो हुने, खोकी लाग्ने र श्वास फेर्न ग्राहो हुने आदिजस्ता समस्या देखा पर्छन् ।
अर्थ व्यवस्थापन नहुँदा कार्यान्वयनमा ढिलाइ
नीति–नियम बनिसकेको छ तर अर्थको व्यवस्थापनको कारणले कार्यान्वयनमा ढिलाइ भएको धरान उपमहानगरपालिका वातावरण शाखाका प्रमुख महेन्द्रकुमार पइन्त्रा बताउँछन् । ‘आन्तरिक स्रोतमा बजेट कम छ, कोरोना कारणले बजेट कम भएको हो, तत्काल लागू गर्न सकेका छैनौं ।’ उनले भने । उनले कार्यक्रम धेरै रहेको तर आम्दानीको स्रोत नहुँदा समस्या थपिएको बताउँछन् । ‘कार्यविधि कार्यान्वयनमा आइहाल्नुपर्ने हो तर पनि बजेट अभावकै कारण कार्यान्वयनमा आउन सकेको छैन ।’
उनका अनुसार धरानमा जथाभावी कुकुर छोडिदिने, कुकुरको टोकाइजस्ता गतिविधिहरु बढिरहेको र गुनासो पनि आइरहेको बताए । ‘आन्तरिक स्रोतबाट टार्गेट गरेको बजेट उठेन, बजेट कम भएको कारणले कार्यान्वयनमा चुनौती थपिएको हो तर पनि कोसिस भने गरिरहेका छौं ।’ उनले थपे ।
उनले कार्यविधि कार्यान्वयनमा आइसकेपछि सामुदायिक कुकुर र घरपालुवाको व्यवस्थापन, गणना, दर्ता, संक्रामक रोगविरुद्धको खोप, आन्तरिक बाह्य परजीवीको नियन्त्रण, नियन्त्रण बाहिर गएका कुकुरहरुलाई सेल्सरमा राख्ने, घरपालुवा तथा सामुदायिक कुकुरहरुबाट हुने प्रदुषण रोक्नेलगायतका कार्यहरु गर्ने जानकारी दिए ।

प्रकाशित मिति: पुष ८ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend