Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘इटहरी उपमहानगर गोल्डकप’ माघमा हुने

हाम्रो कोशी आवाज
पुष ९ २०७८, शुक्रबार
‘इटहरी उपमहानगर गोल्डकप’ माघमा हुने

धरानः सुनसरीको इटहरीमा यही माघ पहिलो सातादेखि उपमहानगरपालिका गोल्डकप २०७८ हुने भएको छ ।
शुक्रबार इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको बाहुलीबाट शिल्ड अनावरण गर्दै आयोजक एरिना टेलिभिजनले प्रतियोगिताबारे जानकारी दिएको हो ।
कोभिड १९ का कारण थला परेको खेलक्षेत्र विस्तारै तङ्ग्रिदै गरेको अवस्थामा खेलाडी र खेलक्षेत्रको विकासमा थप सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक पक्षले बताएको छ ।
प्रतियोगिताबारे जानकारी दिँदै एरिना टेलिभिजनका प्रबन्ध निर्देशक समीर कार्कीले यसअघि पनि टेलिभिजनले विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै त्यसैको निरन्तरतास्वरूप खेल विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
त्यस्तै, प्रतियोगिताको सफलताको शुभकामना दिँदै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले नगरपालिका गोल्डकपले नगरपालिकाहरूले खेल क्षेत्रमा गरेका कार्यहरूको मूल्याङ्कन समेत हुने बताइन् । उनले इटहरी उपमहानगरले प्रतियोगितामा सहभागिता जनाउने बताउँदै सम्भव भएसम्म प्रदेश १ बाहिरका नगरपालिकाहरूलाई पनि प्रतियोगितामा समावेश गर्न सुझाव दिइन् ।
हालसम्म प्रतियोगितामा ८ वटा नगर सहभागिताका लागि इच्छुक रहेको आयोजक पक्षको भनाइ छ । इटहरी स्थित जनता माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्ड र नगद १ लाख ५० हजार रूपैयाँ र उपविजेताले नगद १ लाख रूपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: पुष ९ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend