ताप्लेजुङः विभिन्न हिमाली बस्तीमा हिमपात पर्न सुरु भएको छ । समुद्र सतहदेखि तीन हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै जनजीवन प्रभावित हुन पुगेको हो ।
घुन्सा क्षेत्रमा बुधबारदेखि नै सामान्य रुपमा हिमपात हुन सुरु भएपनि शुक्रबार र शनिबार भने निकै बाक्लो हिमपात पार्न थालेको घुन्साका स्थानीय पेमा शेर्पाले बताए । उनले भने, ‘अहिले पनि हिउँ परिराछ । मौसम खराब छ । चिसोले बाहिर निस्कनै समस्या भएको छ ।’ हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित भएको शेर्पाले बताए ।

हिमपात पर्न सुरु भएसँगै विद्यार्थी विद्यालय आउन नसक्ने भएकाले गत सातादेखि विद्यालयसमेत बन्द गरेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए । उनले भने, ‘चिसोले केटाकेटीहरूको हात कक्रिन्छ । कक्षा कोठामा बस्नै सक्दैन । हिमाली गाउँमा न्यानो कपडा किन्न पसल पनि हुँदैन । त्यसैले विद्यालय अहिले बन्द गरिएको छ ।’
हिमपातले जनजीवन प्रभावित हुनका साथै पशुचौपायसमेत प्रभावित हुने घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताए । हिमाली क्षेत्रका प्रमुख पुर्खौली पेसाको रूपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउने मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाले बताए ।


त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला र चार हजार २०० मिटर उचाइमा अवस्थित याङमा बस्तीमा पनि हिमपात भइरहेको स्थानीय तेन्जी शेर्पाले बताए । मिक्वाखोला गाउँपालिका–६ तोक्पेगोला क्षेत्रमा पनि हिमपात जारी रहेको मिक्वाखोला गाउँपालिका–६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
त्यस्तै, समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि सामान्य हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देश मनमणि काफ्लेले जानकारी दिए । सामान्य हिमपात मात्र भएकाले तीर्थ यात्रीहरू भने पाथीभरा मन्दिरमा पूजा पाठ गर्न जाने क्रम जारी रहेको काफ्लेले बताए । शुक्रबार ३०० जना भक्तजनले पाथीभरा मन्दिरमा पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

