Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा जाडोमा फस्टायो सिद्राको व्यापार

हाम्रो कोशी आवाज
माघ १४ २०७८, शुक्रबार
धरानमा जाडोमा फस्टायो सिद्राको व्यापार

धरानः धरानमा जाडो बढ्न थालेसँगै सिद्राको व्यापार पनि फस्टाएको छ । व्यापारीहरु सिद्रा बेच्ने चटारोमा छन् ।
धरानको पुरानो बजारस्थित कैलाशपथमा ३० वर्षदेखि सिद्राको व्यापार गर्दै आएका प्रेम श्रेष्ठले जाडो मौसममा सिद्राको व्यापार फस्टाउने बताए । ‘जाडो मौसम नै हो धेरै सिद्राको व्यापार हुने मौसम’, उनले भने, ‘असोज अन्तिम हप्तादेखि बढेको सिद्राको व्यापार फागुनसम्म बढी चल्ने गरेको छ ।’
धरान बजारभित्र झन्डै दुई दर्जन व्यापारीले सिद्रा बेच्दै आएका छन् । अहिले उनले १६–१७ प्रकारका सिद्रा बेच्दै आएका छन् । ‘धेरैजसो तरकारी बनाएर खाने, अचार बनाएर खाने सिद्रा नै बिक्री हुन्छ ।’ उनले भने । पुइया, पटासी, चेला, वामना, जुँगे, झिंगो, सुन्दरी, टेग्ना, बरेल, चलवा, बुलवा जातको माछाका विभिन्न प्रजाति आफूले बेच्दै आएको उनले बताए ।
व्यापार गर्नुअघि उनले पोते, ढाका, टोपीको व्यापार गर्ने गर्दथे । तर यसको व्यापारबाटै उनले कमाउँदै आएपछि विगत ३० वर्षदेखि उनी यसमै रमाउँदै आएका छन् । एक वर्षभरी आफूले २० देखि ३० क्वीन्टलसम्म सिद्राको व्यापार गर्ने उनले बताए । सिद्राको व्यापार त हो नि भनेर देख्दा सामान्य लागेपनि उनले यसबाटै गुजारा समेत चलाउँदै आएका छन् । उनले सिजनमा सिद्राको व्यापारले आफूलाई उकास्ने बताए ।
अझै रोचक त के छ भने सिद्राको व्यापारबाटै उनले छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाए । अहिले एकजना छोरीलाई काठमाडौंमा बिएचएम पढाउँदै आएका छन् । बिएचएम कार्यक्रम महङ्गो र पढेपछि सहजै जागिर खाने विषय हो ।
जाडो मौसममा पहाडी जिल्लामा सिद्राको खपत बढी हुने व्यापारी बताउँछन् । जाडो हटाउन सिद्राको झोलले सहयोग गर्ने सेवाग्राहीको विश्वास छ । सिद्रा साना साना भुरा माछा मारेर बनाइने गरिन्छ । खाँदा माछाको स्वाद आउने र जाडो भगाउने हुँदा यसको व्यापार फष्टाएको हो ।
नेपालमा प्रशस्त नदीनाला भएतापनि नेपालमा सिद्रा असोज र कार्तिकमा मात्रै मात्रै पाइने र अरुबेला भने भारतकै भर पर्नुपर्ने र आयात गर्नुपर्ने बाध्यता रहेको व्यापारीहरु बताउँछन् । ‘खासमा नेपालमा यत्रा नदीनाला छन् तर पनि अझै सिद्रामै पनि भारतकै भर पर्नु परिरहेको छ’, उनी भन्छन् ।
धरान–१० की जमुना लिम्बूले सिद्रा खाँदा छुट्टै आनन्द आउने र स्वास्थ्यलाई पनि केही फाइदा हुने बुझेको आफू यहाँ सिद्रा किन्न आएको बताइन् । कतिले त सिद्रा केहीघरमा प्रयोग गर्ने अरु पहाडका आफन्तलाई कोसेलीका रुपमा पठाउने गरेको उनी बताउँछिन् । अहिले जाडो बढेकाले तातो झोलको लागि सिद्रा खान उत्तम रहेको उनको भनाइ छ । सुत्केरी महिला, वृद्धवृद्धा, बालबच्चालाई चिसोबाट बचाउन सिद्राको झोल उत्तम हुने उनको विश्वास छ । ‘सिद्रा पकाएर खाँदा माछा र मासुको स्वाद पनि हुने र चिसो पनि हट्ने ठानेकी छु, त्यसैले सिद्रा किनेकी हुँ’, उनले भनिन् ।
अहिले धरानमा सिद्रा माछा प्रति पावा २ सय, २ सय ५०, र ३ सय सम्म रहेको छ ।
तस्वीरः अङ्कित ढुङ्गाना

प्रकाशित मिति: माघ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend