धरानः धरान-१७ स्थित उदय समुदायिक वनलाई खेल पर्यापर्यटनसँग जोडिने भएको छ ।
वनमा रहेको कर्भडहल मर्मत–सम्भार गर्दै यहाँ खेलकुदका गतिविधि गरिने जनाइएको छ । सखुवाको काठले मात्र निर्माण गरिएको देशकै नमूनाको रुपमा रहेको कर्भडहल निर्माण सम्पन्न भएको १३ वर्षपछि मर्मत–सम्भार हुन लागेका हो ।
वनलाई खेलकुद पर्या पर्यटनमा विकास गर्ने उद्देश्यले कर्भडहललाई मर्मत–सम्भार गरेर स्तरउन्नति गर्न लागिएको उदय समुदायिक वन समूहका अध्यक्ष जसकुमार राईले जानकारी दिए । वातावरणसँग जोडिने र रुख विरुवाहरु पनि नमासिने हुनाले वनलाई खेलकुद पर्यापर्यटनसँग जोड्न लागेको राईले बताए ।
कर्भडहलमा अहिले ब्याडमिन्टन, कराँते र हल बाहिर भलिबल र टेबलटेनिस खेलहरु हुने गरेको छ । चाँडै बास्केटबल, भलिबल, खुला चेस बोर्ड, सेपाकटेक्रो, एस्सरसाइज, वाक र रनिङ गर्ने स्थललगायतको निर्माण गर्ने योजना रहेको वन समूहका सचिव लहरुमाया जिमीले जानकारी दिइन् । उनका अनुसार यस योजनाले उपभोक्ता वन समुदायको सामाजिक उत्तरदायित्व पनि निर्वाह हुने, आसपास क्षेत्रको खेल विकास हुने, स्थानीय युवाहरुलाई खेल क्षेत्रमा आकर्षण गरी कुलतमा फँस्न रोक्ने र यसै माध्यमबाट वन उपभोक्ता समूहको आयस्रोतमा समेतमा टेवा पुग्ने जनाइएको छ ।
कर्भडहल मर्मत–सम्भारका लागि उदय वन उपभोक्ता समूहको कार्यालयमा भेलाको आयोजना गरी आर्थिक उपसमिति समेत निर्माण गरिएको छ । समूहका अध्यक्ष जसकुमारको संयोजकमा ९ जनाको उपसमिति बनाइएको छ । सचिवमा लहरुमाया जिमी, कोषाध्यक्ष मनोेज विष्ट र सदस्यहरुमा नारद राई, विकास चाम्लिङ राई, रमेशचक्र खड्का, रामकुमार भट्टराई, अमित राई र उमेश भण्डारी रहेका छन् ।
समितिले वैशाखभित्रमा मर्मत–सम्भारको कार्य सक्ने पहिलो बैठकबाट निर्णय भएको जनाएको छ । कर्भडहल काठैकाठले बनिएकोले यसलाई मक्किन नदिन तथा हलको आयु बढाउनलाई पहिलो प्राथामिकतामा बाहिरी र भित्री भागमा रङ्गरोगन गर्ने र टुटफुट भएकाहरुको मर्मत गर्ने जनाइएको छ । यसकोे लागि करिब ५ लाख रुपैयाँ लागत लाग्ने समितिका कोषाध्यक्ष मनोज विष्टले भेलालाई जानकारी गराए । अनुमानित लागत वन समूहका सदस्य, स्थानीय निकाय, धरान–१७ नम्बर वडाका विभिन्न संघसंस्था एवं इच्छुक सहयोगी जनसमुदायहरुबाट संकलन गरिने समितिका कोषाध्यक्ष विष्टले जानकारी दिए । भेलामा समितिका सदस्य नारद राई र कोषाध्यक्ष विष्टले नगद १० हजार रुपैयाँ समितिका संयोजक जसकुमार र सचिव लहरुमायालाई सहयोगस्वरुप हस्तान्तरण गरेका थिए ।
तस्वीरः विकास चाम्लिङ राई


