धरानः धरानमा पनि सुगर–प्रेसरका बिरामीहरु बढ्दै गइरहेको पाइएको चिकित्सकहरुले बताएका छन् । अहिल रोगीको संख्या पनि बढ्दै गइरहेको धरानस्थित विजयपुर हस्पिटलका डा. विवेकप्रताप शाहले बताएका छन् ।
‘पहिला ४० कटेपछि लाग्ने मधुमेह अहिले बालबालिका, युवा उमेरमा पनि देखिन थालेको छ’, उनी भन्छन्, ‘पछिल्लो समय हामी धेरैजना सुगर अर्थात् मधुमेहको शिकार बनिरहेका छौं ।’ उनका अनुसार मधुमेह यस्तो रोग हो, लागेपछि शरीरमा विस्तारै अन्य रोगहरू सहजै लाग्न सक्छ । हाम्रो आधुनिक जीवनशैली र बदलिँदो खानपानले यसलाई बल पुरयाइरहेको उनी बताउँछन् । मधुमेह रोग, यसको रोकथाम, उपचार र सावधानीका बारेमा उनले केही कुरा सुझाएका छन् ।
उनी यसरबारेमा यसो भन्छन्–
रगतमा सुगरको मात्रा बढी भएपछि देखिने रोगलाई मधुमेह (चिनीरोग) अर्थात् डायबिटिज भनिन्छ । रगतमा गुलियोपन बढी हुनुको मुख्य कारण हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । कुनै कारणले त्यसको अभाव हुन गयो भने वा इन्सुलिनको अल्छिपना देखियो भने वा इन्सुलिन घट्दै गएमा रगतमा गुलियोपना अर्थात सुगरको मात्रा बढ्छ र मधुमेह रोग देखिन्छ ।
यो रोगलाई धेरैले चिनीरोग भन्ने गर्छन् । चिनीरोगको बारेमा जनचेतना जगाउन निकै ढिला भइसकेको छ । हामी धेरै नेपाली यो रोगको सिकार भइसकेको छौं भने धेरैको ज्यान गइसकेको छ । तथ्याङ्क नै नभएपनि विजयपुर अस्पतालमा भर्ना हुने ५० प्रतिशत बिरामीमा चिनीरोग देखिएको छ ।
यो सरुवा रोग होइन तर पनि विशेषतः खानाको ज्ञान भएन । खाना खाए अनुसारको परिश्रम भएन । साँच्चै भन्ने हो भने चिनीरोग अर्थात् मधुमेह विकाससँगै आउने प्रतिफल हो । अहिले सबैतिर फ्याक्ट्रीबाट बनेको रेडिमेड खानेकुरा, धुम्रपान, मोटोपन आदि कारणले यस्ता बिरामी बढेका हुन् । हामीले मान्दै आएका संस्कारहरूमा पनि परिवर्तन आएको छ । पारिवारिक भेटघाटमा पनि बढी खानेकुरा खाने, चिसो पेयपदार्थ कोक, फ्यान्टालगायत बोतलमा भएका खानेकुरा खाने गरेका छौं । यो गलत हो । स्वास्थ्यका लागि हानिकारक छ ।
अहिले विद्यालयमा अध्ययन गर्ने मोटा बालबालिकालाई भोलि मधुमेहको समस्या नहोला भन्न सकिन्न । १० वर्ष पहिलाको कुरा गर्ने हो भने ४० वर्षपछिको उमेर समूहमा मधुमेहरोग बढी देखिन्थ्यो भने अहिले २० वर्षमा नै मधुमेह देखिन थालेको छ । मधुमेहले शरीरको अङ्ग–अङ्गलाई क्षति गर्छ । यौनदुर्बलता, डिप्रेसन, तनाव, गिजाको रोज, अन्धोपन, पक्षघात, मुटुरोग, किड्नीमा समस्या मधुमेहकै कारणले हुन्छ । मधुमेहकै कारणले किड्नी फेल भएका धेरै नेपालीहरू छन् । त्यसैले मधुमेह सकेसम्म लाग्न नै नदिनुस् । लागे पनि कन्ट्रोल गर्नुहोला । मधुमेह भएपछि सानोसानो घाउ पनि निको हुन गाह्रो हुन्छ ।
मधुमेहलाई सामान्य नसोच्नु होला यो रोग लागेपछि एकपछि अर्काे दुःखले तपाईंलाई घेर्दै–घेर्दै लैजान्छ । मधुमेहले मानसिक र शारीरिक धेरै समस्याहरू निम्त्याउँछ । त्यसैले मधुमेह नै हुन नदिनु उत्तम हो, भएपछि पनि कन्ट्रोल गर्नसक्नुपर्छ । यो नै सबभन्दा उत्तम उपचार हो । सामान्यतयाः स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खानापछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात् मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नुपर्छ ।
हामी विशेषतः कारण सवारी साधन भएपछि हिँडाइ कम, परिश्रम कम हुँदा शरीरमा बोसोको मात्र बढी हुन्छ र मधुमेह मात्रै होइन अन्य रोगको सिकार भइन्छ । घरमै बनाएको खाना खाने गर्नाले पनि मधुमेहबाट जोगिन सकिन्छ ।
खानपान र जीवनशैलीलाई मिलाउन सकियो भने सम्भावित रोगलाई टार्न सकिन्छ । त्यसैले खानपान र जीवनशैलीको एकदमै महत्व हुन्छ । खाना घटाउने, साधारण खाने, चपाएर खाने र प्राकृतिक खाना खाने, फ्याक्ट्रीको खाना नखाने सुपरमार्केटको खाना नखाने, गाउँघरको लोकल कुरा खाने, मज्जाले चपाएर खाने, सागसब्जी धेरै खाने ।
चिल्लो गुलियो र क्यालोरी भएको खानेकुरा नै दुम्मन हुन । सामान्य खानपान अपनाउनु नै राम्रो हो । तर त्यसमा बिचार पुरयाउनुपर्छ । क्यालोरी भएको चिज अर्थात भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको कम सेवन गर्नु राम्रो । व्याडमिन्टन, खेल खेल्नुस, दिनमा आधा घण्टा हिड्नुस् । अरु शारीरिक परिश्रम गर्नुहोस् ।