Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘सामाजिक स्वास्थ्य क्लिनिक’ मा परामर्श

हाम्रो कोशी आवाज
माघ २२ २०७८, शनिबार
धरानमा ‘सामाजिक स्वास्थ्य क्लिनिक’ मा परामर्श

धरानः परिवर्तनका लागि सामाजिक अभियानको ‘सामाजिक स्वास्थ्य क्लिनिक’ को नवौं संस्करण सम्पन्न गरिएको छ ।
धरान मोडल कलेजको प्राङ्गणमा शनिबार सम्पन्न पाक्षिक स्वास्थ्य क्लिनिकमा फलोअप र नयाँ गरी १६ जनाले स्वास्थ्य जाँच गरेका थिए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा हुँदै आइरहेको छ । डा. साहले क्लिनिकमा सहभागी बिरामीहरूको स्वास्थ्य जाँच गर्दै भने, ‘सबैभन्दा बढी खानपानलाई ध्यान दिनुहोला । खानपानका कारणले नै रोगहरूले आक्रमण गर्ने हुँदा यसतर्फ ध्यान दिनुस् ।’
क्लिनिकमा नयाँ बिरामीहरू पनि आउने गरेको अभियानका संयोजक विष्णु बरालले जानकारी दिए । उनका अनुसार फलोअप र नयाँ बिरामीहरूको स्वास्थ्य जाँच गरिसकेपश्चात् उनीहरूलाई डा. साहले परामर्श पनि गरेका थिए । स्वास्थ्य परामर्शले बिरामीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न सहयोग गर्ने गरेको उनले बताए ।
अभियानले विशेषगरी ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै क्लिनिक सञ्चालन गरेको हो । पाक्षिकरूपमा गर्दै आएको कार्यक्रम शनिबारका दिन गरिँदै आएको छ । धरानबाहेक विराटनगर, इटहरीलगायतबाट पनि क्लिनिकमा आउने गरेको सदस्य वर्षा अग्रवाल श्रेष्ठले बताइन् । उनका अनुसार अब भने धरानका वडावडाहरूमा गई क्लिनिक सञ्चालन गर्ने योजना पनि बनाइएको छ । यसअन्तर्गत वडावडाका ज्येष्ठ नागरिकलाई सेवा दिने उद्देश्य रहेको छ ।
क्लिनिकमा २० जनासम्म नयाँ बिरामीलाई जाँच गरिँदै आएको छ । त्यस्तै, फलोअपमा रहेका अन्य बिरामीहरूलाई पनि जाँच गरिँदै आएको सदस्य त्रिभुवन बरालले जानकारी दिए । ‘नयाँ २० जनालाई पहिलो प्राथमिकता दिन्छौं, त्यसपछि फलोअपका त जाँच भइहाल्छ’ उनले भने । विशेषगरी बीपी प्रतिष्ठानमा ज्येष्ठ नागरिकहरूलाई लाइनमा लागेर जाँच गर्न गाह्रो हुने भएकाले पनि यस्तो कार्यक्रम तयार गरिएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए ।

प्रकाशित मिति: माघ २२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend