धरानः धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
आइतबार मेयर तिलक राईले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेका छन् । मेयर राईले धरान उपमहानगरपलिकाले विभिन्न वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा प्रारम्भ गरिरहेको बताए ।
आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपमहानगरपालिकाको दक्ष स्वास्थ्यकर्मीहरुले सेवा उपलब्ध गराईरहेको मेयर राईले जानकारी दिए । स्वास्थ्य केन्द्रबाट प्राप्त हुने औषधिहरु, सेवाहरु सही ढङ्गबाट पुगिरहेको मेयर राईको भनाई थियो । मेयर राईले स्वास्थ्यकर्मीहरुलाई जनताको सेवा–सुविधाका निम्ति दत्तचित्त भएर लाग्न आग्रह समेत गरे । कार्यक्रममा वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले स्वास्थ्य भएन भने सुन्दर समाजको परिकल्पना गर्न नसकिने बतए । उनले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र करिब २८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको जानकारी दिए । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ४५ प्रकारको औषधिहरु निःशुल्क पाइने पनि बताए ।
कार्यक्रममा स्वास्थ्यकर्मीहरु चन्द्रकला राई र लुना अधिकारीलाई सम्मान गरिएको थियो भने वडाका स्वयंसेविकाहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै, वडाका टोल विकास संस्था र पिण्डेश्वर बाबाधाम समितिलाई पनि कदरपत्र प्रदान गरेका थिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेल, वडाध्यक्ष कृष्णप्रसाद भट्टराई, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले सम्मानपत्र प्रदान गरेका थिए ।

यस्तै, धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान १४ स्थित रहेको पिण्डेश्वर क्याम्पस हाताभित्र बन्ने सरस्वती मन्दिरको शिलान्यास गरेका छन् ।
सरस्वती पूजाको अवसर पारेर आज शिलान्यास भएको सो मन्दिर धरान उपमहानगरपालिकाको सहयोग, विभिन्न दाताहरूको सहयोग र क्याम्पसको लगानीमा ११ लाख रुपैयाँमा प्यागोडा शैलीको मन्दिर निर्माण हुने क्याम्पस प्रमुख काशीनाथ पौडेलले जानकारी दिए ।
मन्दिरको विधिवत् शिलान्यासपछि मेयर राईले जुन शिक्षालयमा सरस्वतीको मन्दिर हुन्छ त्यो मन्दिर विद्याको मन्दिर हो भनिन्छ । त्यसैले पिण्डेश्वर क्याम्पस परिसरमा बन्न लागेको मन्दिरमा आफ्नो साथ सहयोग रहने बताए । धरानलाई शैक्षिक हब भनिँदै आएकोमा यहाँ रहेका शैक्षिक सङ्घ संस्थाहरूको विकास र उन्नयनमा सबै मिलेर लाग्नुपर्ने समेत मेयर राईले बताए ।
यसैगरी कार्यक्रममा विशेष अतिथि समेत रहेका प्रा.डा. टङ्कप्रसाद न्यौपानेले मन्दिर निर्माणका लागि २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । कार्यक्रममा मेयर राईले विद्यार्थीको आजको भोजनका लागि १० हजार रुपैयाँ पनि प्रदान गरेका थिए । शिलान्यास कार्यक्रममा धरान १४ का वडाध्यक्ष भट्टराईले सरस्वतीको पूजाको दिन सरस्वतीको मन्दिरको शुभारम्भ भएकोले चाँडै निर्माण सम्पन्न हुने बताए ।
क्याम्पस प्रमुख काशीनाथको अध्यक्षतामा सम्पन्न मन्दिर शिलान्यास कार्यक्रममा उपमेयर मञ्जु भण्डारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, गोपाल भण्डारी, नारायणदत्त पौडेल, रघुनाथ भण्डारी, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेतालगायतको उपस्थिति रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य पूर्व प्राचार्य चन्द्रमणि नेपालले गरेका थिए भने कार्यक्रमको सञ्चालन सागरमणि सुवेदीले गरेका थिए ।