धरान–१६ स्थित वडा कार्यालयमा बालबालिकालाई भिटामिन ए खुवाउन आइपुगेका स्थानीय । फाइल तस्वीरः हाम्रो कोशी आवाज
धरान–१४ मा गत आइतबार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन नै उद्घाटन भयो । त्यहाँ ४५ प्रकारको औषधिहरु निःशुल्क पाइने जनाइएको छ । यस्तै, धरानका वडा नं. २, ३, ७, १९, ९, १०, १२ र १८ वडाबाहेक अन्य वडामा शहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य साथै स्वास्थ्यचौकी छन् । वडा नं. १, ५ र २० स्वास्थ्यचौकी छन् भने वडा नं. १७ रेल्वेमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र समेत छ । यस्तै, वडा नं. १५ को खोरिया वस्तीमा शहरी स्वास्थ्य केन्द्र छ भने १५ कै श्यामचौकमा शहरी स्वास्थ्य क्लिनिक छ भने वडा नं. १५ मै रहेको निराजन वस्तीमा धरान आयुर्वेद औषधालय रहेको छ ।
राज्यको एक वडा एक स्वास्थ्य केन्द्र स्थापनाको नीतिअनुसार आधारभूत स्वास्थ्य केन्द्र पनि सञ्चालन भइरहेका छन् । धरान–१३ मा पनि आफ्नै आधारभूत स्वास्थ्य केन्द्रको भवनसहितको आधारभूत स्वास्थ्य केन्द्र छ । त्यहाँ साढे २९ लाखको लगानीमा तीनकोठे भवनमा तीन बेड मात्रै राखिएको छैन, बिरामीका लागि स्लाइपानी दिने व्यवस्था छ । वडाध्यक्ष नेत्र काफ्लेका अनुसार सुत्केरी महिलाका लागि वडा कार्यालयको पहलमा ५ हजार रुपैयाँ बराबरको पोषणयुक्त खानेकुरा समेत दिइन्छ । उनले त्यहाँ सरकारबाट पाउने निःशुल्क औषधि पाइने बताए ।
‘खासमा यी शहरी स्वास्थ्य साथै आधारभूत स्वास्थ्यमा रोग लाग्नै नदिने खालका औषधि उपचार हुन्छ तर पनि योबारेमा धेरै जानकारी नहुँदा सेवाग्राही खासै पुग्न सकेका छैनन्’, धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता भन्छन्, ‘धेरैभन्दा धेरै जानकारी दिनुपर्ने बेला आइसकेको छ ।’
राज्यले ठूलो लगानी गरेपनि स्वास्थ्य केन्द्रमा स्वास्थ्य जाँचका लागि सेवाग्राही खासै पुग्ने गरेका छैनन् । ‘केहीलाई थाहा छ’, महाशाखा प्रमुख मेहता भन्छन्, ‘धेरैलाई थाहा छैन ।’ उनले १, ५ र २० मा अधिकृतसहितको स्वास्थ्यकर्मी राखेर सेवा दिँदै आएको पनि बताए । उनका अनुसार धरान–१७ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा एमबिबिएसमार्फत् सेवा दिइन्छ । यस्तै, १५ मा एचए, स्टाफ नर्स र अनमीसहितको सेवा प्रदान हुन्छ । तर सामान्य चोटपटक लाग्दासमेत निजी क्लिनिक र महङ्गो अस्पताल पुग्ने धराने सो सेवाबारे बेखबर छन् । ‘पहिलो कुरा त आफ्नै वडामा स्वास्थ्य सेवा छ भन्ने पनि थाहा छैन’, मेहता भन्छन्, ‘थाहा हुनेले पनि पत्याइदिएको पाइएन । तर पनि सही उपचार हुन्छ ।’

विशेषतः स्वास्थ्य विभागले ४५ प्रकारका औषधि (पारासिटामोल, मेट्रोन, डायजिन, वि–कम्प्लेक्स, एन्टी एलर्जी, आइरन चक्की, परिवार नियोजनका अस्थायी साधन) उपलब्ध गराउँदै आएको छ । यस्तै, क्षयरोग, रेविज, कुष्ठरोग, भिटामिन आइरन चक्की, बालबालिकाका लागि खोप लगायतका औषधिका सेवा पनि त्यहाँ हुने गरेको छ । ‘धेरै प्रकारको औषधि पाइने भएपनि अस्थायी साधनबाहेक अन्य औषधि माग्न आइपुग्दैनन्’, एक स्वास्थ्यकर्मी नाम नछाप्ने शर्तमा भन्छिन् । राज्यले प्रदान गरेको निःशुल्क सेवा लिन जनता हिच्किचाउँदै आएको समेत उनी बताउँछिन् ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरान उपमहानगरपालिकाले धरानेलाई स्वस्थ राख्न र स्वास्थ्यका पूर्वाधार थप्ने हिसाबले केही वडामा जीमसहितको खुला व्यायामशाला निर्माण गरिएको बताए । उनले स्वास्थ्य केन्द्रसहित व्यायामशालाले धरानेलाई केही राहत भएपनि सबैलाई जानकारी नभएको नै बताए । उनले अहिले धरान–१८ र १३ मा स्थापना भएका खुल्ला व्यायामशालामा भने जनताको रुचि जाग्दै गएको बताए ।
अहिले ब्यायामशालामा भने दैनिक सयौं मानिस आइपुग्ने गरेको वडाध्यक्ष प्रविन राई बताउँछन् । ‘खासमा अहिले खुल्ला व्यायामशालालाई जनताले रुचाएका छन्’, उनले भने, ‘दैनिक सयौं मानिस व्यायाम गर्न आइपुग्छन् ।’ धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले अहिले व्यायामशालामा दिनहुँजसो बिहान र बेलुका व्यायाम गर्न आउने गरेको बताए ।

उनले व्यायामशालामा भीड भएजस्तै अब शहरिया जनताको मानसिकतामा परिवर्तन आउनुपर्ने धारणा राखे । ‘यत्रो सेवा सुविधा राज्यले दिइरहेको छ तर पनि मानिसहरु निजी क्लिनिक र महङ्गो अस्पताल धाइरहेका छन्’, उनले थपे, ‘सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुरयाउन ल्याएको नीतिलाई सफल र प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बेला आएको छ ।’
४५ थरीका निःशुल्क औषधि, निःशुल्क प्रसुति सेवा, गर्भवतीलाई भत्ता दिइने भएपनि सेवाग्राही विराटनगरसम्म पुग्ने गरेको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए । ‘खासमा टाढाको सेवा नै राम्रो हो भन्ने धेरैको मानसिकता महङ्गो सेवा र अस्पतालतिर छ, यसलाई चिर्न सबैको ध्यान जानु आवश्यक छ’, उनले थपे, ‘दिइँदै आएको सेवालाई पनि थप प्रभावकारी बनाउन आवश्यक भइसकेको छ ।’