Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ‘भ्यालेन्टाइन डे’ अघि चमक

हाम्रो कोशी आवाज
माघ २९ २०७८, शनिबार
धरानमा ‘भ्यालेन्टाइन डे’ अघि चमक

धरानः धरानमा पनि भ्यालेन्टाइन डे नजिकिएसँगै पसलहरुमा प्रेमिल रङ्गले भरिएका गिफ्ट आदिमा चमक थपिएको छ । पसलहरुमा रातो गुलाफको फूल, गिफ्ट आइटमले आकर्षितरुपमा सजाइएको पाइएको छ ।
अहिले सपिङ सेन्टर तथा पसलहरु झकिझकाउ देखिन थालेका छन् । सोमबार १४ फेबु्रअरीका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस पर्दछ । विशेषगरी आफ्ना प्रियजनसँग प्रेम प्रकट गर्ने दिन भएकाले सपिङ मल र बजारका गिफ्ट पसलहरुमा फूल र गिफ्टका सामग्रीहरू सजाएर झकिझकाउ बनाइएका छन् ।
धरानमा रहेका गिफ्ट पसलहरुमा भ्यालेन्टाइन डे को हप्तादिनअघि नै ग्राहकको चहलपहल हुने गरेको तर केही वर्षदेखि प्रत्येकको हातमा मोबाइल र घरमा इन्टरनेटका कारण व्यवसाय खस्किएको व्यवसायीले बताएका छन् । ‘जमाना कहाँ पुगिसक्यो कहाँ ?’, न्यू भेराइटी कार्ड एण्ड गिफ्ट सपका सञ्चालक रवि हलवाईले भने, ‘भ्यालेन्टाइन डे आइसक्यो, मोबाइल चलाउँदै बस्नुबाहेक व्यवसाय छैन ।’
धरान गिफ्ट सेन्टरका सञ्चालक प्रकाशकुमार प्रधानले आफ्नो पसल जति सामग्री सजाएर चमकता देखिएको छ, त्यति व्यापार भने हुन नसकेको बताए । ‘झकिझकाउको चमकमात्रै हो, व्यापार त कहाँ हुन्छ, सोंचेजस्तो व्यापार छैन नि’, उनले भने, ‘इन्टरनेट आउनुअघि थामिनसक्नु भीड हुने पसलमा अहिले खासै छैन, फाट्टफुट्ट मात्रै छ ।’
विगतको दिनमा भ्यालेन्टाइन नजिकिँदै गर्दा सोही अनुसार युवायुवतीहरूको पसलमा भीड हुन्थ्यो । साथै, व्यापार पनि राम्रो हुने व्यवसायीहरूको अनुभव छ । तर, कोरोनाले गर्दा भ्यालेनटाइनमा रौनकता नछाएको उनी बताउँछन् ।
साथै, पछिल्लो समय गिफ्टको सट्टामा अन्य दैनिक प्रयोग हुने सामग्री दिने प्रचलनले पनि गिफ्ट तथा कार्डको खासै व्यापार हुन नसकेको धरान गिफ्ट सेन्टरकै सविना प्रधानले बताइन् । ‘विगतको केही वर्षदेखि नै भ्यालेन्टाइनको समयमा पनि व्यापार कम हुँदै आएको थियो । यो वर्ष त झन ग्राहक आउनै सकेको छैन,’ उनले भनिन् ‘अब एकदिन मात्रै बाँकी छ, बजारमा मानिसको आगमन निकै कम भएकाले आगामी दिनमा पनि ग्राहक आउने आश छैन ।’
केही वर्ष अगाडिसम्म भ्यालेन्टाइन विशेष लभ कार्ड, लभ शो–पिस, लभका आकार डलहरुलगायत मायाको प्रतिक जनाउने सामाग्रीहरुको बिक्री अत्याधिक हुने गर्दथ्यो । तर, पछिल्लो समय डिजिटल प्लेटफर्मको सहायताका कारण अहिले गिफ्ट, कार्डहरु कम मात्रामा बिक्री हुने गरेको व्यवसायीहरूको भनाइ । पछिल्लो समय आफ्नो प्रेमीप्रेमीकालाई भ्यालेन्टाइनमा लुगा, घडी, परफ्यूमलगायत अन्य आवश्यक सामग्री दिने प्रचलन बढेका छन् ।
भ्यालेन्टाइनमा ‘रोज डे’ का दिन गुलाफ टेडी वियरका दिन टेडी, चकलेट डेका दिन चकलेट र अरु भ्यालेन्टाइन डेका लागि विभिन्न प्रकारका गिफ्टहरु आफ्ना प्रेमीप्रेमीकाले दिने चलन रहेको पाइन्छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: माघ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend