धरानः परिवर्तनका लागि सामाजिक अभियानको १० औंं संस्करणको सामाजिक स्वास्थ्य शिविर शनिबार १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परीक्षण भएको कार्यक्रम पाक्षिकरुपमा सञ्चालन हुँदै आइरहेको छ । परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरी आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने ‘बुबाआमाहरुको सुस्वास्थ्यका लागि यो कार्यक्रम गरेका हौं ।’ विगत ७ महिनादेखि धरान–१ स्थित धरान मोडल कलेजमा आयोजना भइरहेको यो कार्यक्रम अभियानले वडा वडामा कार्यक्रम गर्ने अभियानअनुरुप यसपटक धरान–१८ मा आयोजना गरिएको हो ।

विशेषगरी ब्लड प्रेसर, सुगर र मुटु रोगसम्बन्धी जाँच गरिने यो क्लिनिक १८ नं. वडा कार्यालय, धरानको सहकार्यमा सम्पन्न भएको हो । जम्मा ६३ जना बिरामीहरुको स्वास्थ्य जाँच गरिएको कार्यक्रम वडाबासी बुबाआमाका लागि ज्यादै लाभदायक भएको धरान १८ नं. वडाका अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले बताए ।
विशेषगरी मुटु र प्रेसरका विरामीहरु सचेत हुनुपर्ने र आहार विहारमा ध्यान पुरयाउनु पर्ने डा. प्रशान्त साहले बताए । प्रतिष्ठान नजिक भएको वडा नं. १८ मा समेत बिरामीहरु सचेत नभएको पाइएकोले यो कार्यक्रमबाट बिरामीहरु स्वयं समेत लाभान्वित हुने डा. साहले बताए ।
अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा अभियानकर्मी मोहन श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल, निशान नेपाल एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत् स्वास्थ्यकर्मी निशा श्रेष्ठको समेत सहभागिता रहेको थियो भने कार्यक्रम समापनका अवसरमा वडासदस्य जमुना त्रिखत्री मोक्तानले सम्पूर्ण आयोजकलाई धन्यवाद ज्ञापन गरिन् ।