Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा स्वास्थ्य बीमा गराउने बढी

हाम्रो कोशी आवाज
फाल्गुन १६ २०७८, सोमबार
प्रदेश १ मा स्वास्थ्य बीमा गराउने बढी

धरानः सरकारले स्वास्थ्य बीमा बोर्ड गठन गरी बीमा कार्यक्रम देशभर सञ्चालन गरिरहेको छ । सुरुवाती दिनहरूमा स्वास्थ्य बीमाबारे नागरिकले चासो राखेका थिएनन् । तर, अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बीमा गरेपछि पाउने राहतबारे बुझेपछि स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दो रहेको छ ।
स्वास्थ्य बीमा गर्नेमा पुरुषको तुलनामा महिलाहरूको सङ्ख्या धेरै रहेको देखिन्छ । स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क हेर्ने हो भने हालसम्म देशभर स्वास्थ्य बीमा गर्नेको सङ्ख्या ५२ लाख १६ हजार ३९७ पुगेको छ । जसमध्ये महिलाहरूको सङ्ख्या २६ लाख ४५ हजार ३०५ रहेको छ भने पुरुषको सङ्ख्या २४ लाख ७० हजार ५३५ रहेको छ । बीमा गर्ने अन्यमा ५५७ जना रहेका छन् ।
बोर्डको तथ्याङ्क अनुसार लक्षित समूहहरूमध्ये बीमा गर्नेको सङ्ख्या १२ लाख ८४ हजार ५४२ रहेको छ । लक्षित समूहहरूमा गरिब विपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, एचआइभी सङ्क्रमित, क्यान्सर पीडित, कुष्ठरोगी र राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरु रहेका छन् ।
जसमध्ये बीमा गर्नेहरूमा ज्येष्ठ नागरिकको सङ्ख्या छ लाख ५ हजार २०५ रहेको छ । त्यस्तै यस अवधिमा बीमा गर्ने गरिब तथा विपन्नहरूको सङ्ख्या चार लाख ८४ हजार ३३५, अपाङ्गहरुकाे सङ्ख्या ८७ हजार ०३१, राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीहरूको सङ्ख्या ७९ हजार ३९०, एचआइभी सङ्क्रमितको सङ्ख्या २३ हजार ६८०, कुष्ठरोगीको सङ्ख्या दुई हजार ६८६ र क्यान्सर पीडितहरूको सङ्ख्या २ हजार २१५ रहेको छ ।
बोर्डका अनुसार हाल ७७ वटै जिल्लाहरूमा स्वास्थ्य बीमा लागु भएको छ । हालसम्म प्रदेश अनुसार बिमितको सङ्ख्या ५१ लाख १९ हजार १७६ रहेको छ । जसमध्ये प्रदेश १ मा स्वास्थ्य बीमा गर्नेहरूमा कुल जनसङ्ख्याको ३६.८१ प्रतिशत अर्थात् १६ लाख ६९ हजार ३३८ जना स्वास्थ्य बीमामा आबद्ध रहेका छन् । अन्य प्रदेशको तुलनामा यो सङ्ख्या सबैभन्दा बढी हो ।
त्यस्तै, प्रदेश नम्बर दुईमा ५.२४ प्रतिशत अर्थात् २ लाख ८६ हजार ६८६ जना, बाग्मती प्रदेशमा १८.४३ प्रतिशत अर्थात् १० लाख १९ हजार २२२ जना, गण्डकी प्रदेशमा २६.२२ प्रतिशत अर्थात् ६ लाख ३० हजार २४४ जना रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको ७.८२ प्रतिशत अर्थात् ८ लाख एक हजार ८८५ जना, कर्णाली प्रदेशमा १८.८८ प्रतिशत अर्थात् २ लाख ९६ हजार ५९४ जना र सुदूरपश्चिम प्रदेशमा १६.२७ प्रतिशत अर्थात् चार लाख १५ हजार ५०७ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।
बोर्डको तथ्याङ्क अनुसार हालसम्म प्रदेश अनुसार ५९ लाख ६६ हजार ३४६ परिवार अर्थात् २८.८६ प्रतिशत स्वास्थ्य बीमामा आबद्ध रहेका छन् । जसमध्ये प्रदेश नम्बर एकमा चार लाख ८८ हजार ८९१ परिवार, प्रदेश नम्बर दुईमा एक लाख १९ हजार ७११, बाग्मती प्रदेशमा दुई लाख ८२ हजार ५१६ र गण्डकी प्रदेशमा दुई लाख १५ हजार २१३ परिवार रहेका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा २ लाख ४६ हजार ४४६ परिवार, कर्णाली प्रदेशमा ७८ हजार ३३४, र सुदूरपश्चिम प्रदेशमा एक लाख ३५ हजार २३५ परिवार स्वास्थ्य बीमामा आबद्ध रहेको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: फाल्गुन १६ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend