धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुइदिने प्रत्यक्ष मूत्रनली शल्यक्रियासम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
प्रतिष्ठानको सर्जरी विभाग, यूरोलोजी डिभिजनको आयोजनामा फागुन १४ र १५ गते नेपालमै पहिलोपटक प्रत्यक्ष मूत्रनली शल्यक्रियासम्बन्धी कार्यशाला भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार कार्यशाला एससीआई हस्पिटल नयाँ दिल्ली भारतका प्रख्यात यूरोलोजिष्ट तथा मूत्रनली विशेषज्ञ डा.गौतम बाङ्गाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यशालाको उद्घाटन सर्जरी विभागका प्रमुख प्रा.डा.राकेश गुप्ताले गरेका थिए ।
उद्घाटनको क्रममा डा. गुप्ताले मूत्रनलीको समस्या र शल्यक्रिया दुवै अत्यन्त जटिल हुने र यस्तो किसिमको शल्यक्रिया हरेक अस्पतालमा नहुने जानकारी गराए । साधारण खालको मूत्रनलीको समस्याका शल्यक्रियाहरु प्रतिष्ठानमा हुँदै आएको भएतापनि केही जटिल समस्याको लागि अन्यत्र रेफर गर्दा पनि बिरामीहरु प्रतिष्ठानमै फर्केर आउने गरेकाले यस प्रकारको जटिल मूत्रनली सम्बन्धी समस्याहरुको कार्यशालाको आयोजना गरिएको कार्यशालाका आयोजक समितिका अध्यक्ष तथा यूरोलोजी डिभिजनका सहप्राध्यापक डा. रिकेशजङ्ग कार्कीले जानकारी दिए ।
दुइदिने कार्यशालामा मूत्रनलीका जटिल समस्या भएका दीर्घरोगीहरु ६ जनाले सेवा पाएका थिए । जसमध्ये दुई वर्षदेखि पेटमा प्वाँल पारी पाइपबाट पिसाब फेर्दै आएका सप्तरीका ३६ वर्षीय पुरुषको पनि सफल शल्यक्रिया भएको छ । अब केहीदिनपछि पेटमा राखिएको पाइपबाट पिसाब फेर्न नपर्नेमा उनी निकै हर्षित छन् । उनी जस्तै सडक दुर्घटनामा परी मूत्रनलीमा जटिल चोट लागेका र नली छिनिएका बिरामीहरुको अब प्रतिष्ठानमा नै उपचार सम्भव हुने डा. कार्कीले जानकारी दिए ।
कार्यशाला अवधिमा शल्यक्रियाहरु प्रतिष्ठानको मोडुलर अप्रेशन थिएटरमा भएको थियो भने त्यसको प्रत्यक्ष प्रशारण प्रतिष्ठानको अडिटोरियम हलमा भइरहेको थियो । अडिटोरियम हलबाट सहभागीहरुले अप्रेशन थिएटरमा प्रत्यक्ष कुराकानी तथा प्रश्नोत्तर गर्न सकिने व्यवस्था पनि मिलाइएको थियो । साथै त्यसको प्रत्यक्ष प्रशारण इन्टरनेटमार्फत् संसारभरि गरिएको कार्यक्रमका आयोजक समितिका सदस्य डा. शैलेश महर्जनले जानकारी दिए ।
अडिटोरियम हलबाट सहभागीहरु तथा अप्रेशन थिएटरमा शल्यचिकित्सकहरु बीच संवाद गराउन मध्यस्थकर्ताका रुपमा नोबेल मेडिकल कलेज, बिराटनगबाट सह प्राध्यापक डा. साम सागर शाह, बिराट मेडिकल कलेज, बिराटनगरबाट सह प्राध्यापक डा. दिपक ठाकुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सह प्राध्यापक डा. प्रकाश क्षेत्री र बीर अस्पताल, काठमाडौंबाट सह प्राध्यापक डा.चितरञ्जन शाहको उपस्थिती रहेको थियो । यस्तै, अप्रेशन थिएटरमा डा. गौतम बांगा र डा. रिकेशजंग कार्कीका साथमा डा. आवाज काफ्ले, डा.समीर चौधरी, डा. शैलेश महर्जन तथा डा. योगेश मण्डलको उपस्थितीमा शल्यक्रिया भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।