धरानः परिवर्तनका लागि सामाजिक अभियान धरानले हरेक महिनाको पहिलो र तेस्रो शनिबार आयोजना गर्ने गरेको सामाजिक स्वास्थ्य क्लिनिकको ११ औं संस्करण शनिबार धरानको गीता भवनमा सम्पन्न भएको छ ।
मुटु, रक्तचाप र मधुमेहका ७० वर्षभन्दा माथिका बिरामीहरुलाई लक्षित गरी आयोजना गरिएको सो सामाजिक स्वास्थ्य क्लिनिक २ नं. वडा कार्यालय धरानको सहकार्यमा सम्पन्न भएको हो । अभियानका अध्यक्ष विष्णु बरालका अनुसार धरानका हरेक वडामा आयोजना गर्ने उद्देश्य राखिएको यो कार्यक्रम गत फागुन ७ गते धरान १८ नं. वडामा सम्पन्न भइसकेपश्चात् यसपल्ट वडा नं. २ मा सम्पन्न भएको बताए ।
अभियानद्वारा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँग समन्वय गरी आयोजना गरिएको सो सामाजिक स्वास्थ्य क्लिनिकमा जम्मा ७७ जना बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । २ नं. वडाका अध्यक्ष माधवगोविन्द श्रेष्ठले यस्तो कार्यक्रमले वास्तवमै जनताको स्वास्थ्य स्थितिमा परिवर्तन र सचेतना ल्याउने बताए । श्रेष्ठले २ नं. वडा कार्यालयसँग सहकार्य गरी कार्यक्रम आयोजना गरेकोमा डा. साह एवम् आयोजक संस्थाप्रति पनि आभार व्यक्त गरे ।

अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न सो सामाजिक स्वास्थ्य क्लिनिकमा मोहन श्रेष्ठ, भोजराज श्रेष्ठ, वर्षा अग्रवाल, जेनिश शाक्य, विजय श्रेष्ठ, निशान नेपाल, हेमचन्द्र ढकाल, राजेन्द्र रिजाललगायत अभियन्ताहरुको उपस्थिति रहेको थियो । त्यसैगरी प्रतिष्ठानका स्टाफ नर्स रमला गुरागाईंको समेत स्वास्थ्य जाँचमा सहभागिता रहेको थियो ।
बिरामीहरु धरानकै स्थानीय भएर पनि बीपी प्रतिष्ठानमा समयमा उपचार गराउन नआएकोमा डा. प्रशान्त साहले चिन्ता व्यक्त गरे । ‘अस्पताल नजिकै छ, तर पनि मुटु रोगका बिरामीहरु एक डेढ वर्षसम्म पनि फलोअपमा आउन अप्ठ्यारो मान्नुहुन्छ’, डा. साहले भने । यस्ता सामाजिक क्लिनिकमा भएपनि बिरामीहरु आउनुभएकोमा डा. साहले खुशी व्यक्त गर्दै भने, ‘बिरामीहरुले खानपानमा सचेतना अपनाउनुपर्छ र यस्तै सामाजिक क्लिनिकमा भएपनि फलोअप गर्नु साहै्र राम्रो कुुरा हो ।’
घर–आँगनमै स्वास्थ्य जाँच गराउन पाएकोमा धरान–२ निवासी खजाञ्जीदास अग्रवालले खुशी समेत व्यक्त गरे । कार्यक्रमको समापन समारोहमा वडा नं. २ का वडा सदस्य सन्ध्या श्रेष्ठले आयोजकलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।