धरानः अहिले विश्वमा टिकटकको क्रेज अत्याधिक बढेको छ । हाइ प्रोफाइलदेखि सामान्य नागरिकसम्मले टिकटक प्रयोग गरिरहेको पाइन्छ । प्रविधिको प्रयोग असल र खराब दुवैरुपमा भइरहेको पाइन्छ ।
प्रविधिलाई सही प्रयोग गरे असहायका लागि, समाजका लागि केही राम्रो पनि भएको देख्न सकिन्छ । यसैबीच हालै ‘टिम ए टिकटकर्स ग्रुप’ उदाहरणीय कार्य गरेर देखाएको छ । टिम ए टिकटकर्स ग्रुप विदेशमा रहेको नेपालीहरुको टिकटक गु्रप हो ।
उनीहरुले केही समयअघि मात्र टिकटक लाइभमार्फत् च्यारिटि अभियान चलाएका थिए । जसलाई हेरेर देश विदेशमा रहेका टिकटर्कसहरुले आर्थिक सहयोग गरेका छन् ।
सो ग्रुपले धरान पोजिटिभ समूहको मातहतमा रहेको एचआइभी पोजिटिभ तथा प्रभावित बालबालिकाहरुको शिक्षाको लागि हातेमालो अक्षयकोषलाई एक लाख ९ हजार ६ सय रुपैयाँ आर्थिक सहयोग गर्दै सामाजिक काम गरेको छ । उनीहरुले उपस्थित एचआइभी संक्रमित बालबालिका र उनीहरुको अभिभावकलाई खाना र खाजा समेत खुवाएका छन् ।
सहयोगका लागि टिम ए टिकटकका सदस्य धरान–११ स्थित पविन राईले संयोजन गरेका थिए । पविन राई ब्रिटिस आर्मीमा भर्ती हुने पहिलो नेपाली महिला हुन् । उनको संयोजनमा टिम ए ले अक्षयकोषका लागि सहयोग गरेका हुन् । टिम ए मा नेपाल, युके र युएसका गरी १० जना सदस्यहरु छन । सदस्यहरुमा पविन राई पवु युके, सानुमाया युके, गीता युके, स्वीट सपु युके, माइली राना युके, अन्तिम सोल्टि युएसए, सोनिया राई युके, वर्षा लिम्बू नेपाल र गंगा गुरुङ ७३० नेपालबाट रहेका छन् । उनीहरुले टिकटक लाइभमा आएर च्यारिटी अभियान चलाएका थिए ।
धरान–१ स्थित धरान पोजिटिभ समूहको कार्यलयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गरिएको थियो । सहयोग रकम सहयोग दाताको तर्फबाट आएका पविन राईका बुबा इन्द्रबहादुर राई, आमा प्रमिला राई, दिदी निलम राई, गु्रपका नेपाल प्रतिनिधि पवित्र सुनुवारलगायतले संयुक्तरुपमा धरान पोजिटिभ समूहका कोषाध्यक्ष रोमनकुमार राई, प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई र कार्यालय प्रमुख सुजना गोलेको हातमा हस्तान्तरण गरेका थिए ।
धरान रनको सहयोगमा स्थापना भएको अक्षयकोषमा हाल ६ लाख ८२ हजार रुपैयाँ रहेको कार्यक्रमका रोमनकुमार राईले कार्यक्रममा जानकारी गराएका थिए ।
अक्षयकोषको ब्याजबाट आएको रकमले हरेक ६–६ महिनामा संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षामा सहयोग गर्दै आइरहेको तर, कोरोना महामारीको समयमा भने विद्यालय बन्द भएको कारण सो समय विपन्न तथा असहाय संक्रमित तथा प्रभावित परिवारलाई खाद्यन्न सहयोगमा रकम खर्चिएको राईले बताए ।
कार्यक्रममा सहयोगदाता पविनका दिदी निलम राईले उपस्थितहरुलाई सकारात्मक सोच्न सुझाव दिएका थिइन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकऋषि राईले अक्षयकोष स्थापनाका लागि धरान रनसँग सहकार्य गरेर धरानका पत्रकारहरुले रिक्सा कुदाएर आर्थिक संकलन गरिएको बताए । उनले सहयोगका लागि सहयोग दाताहरुलाइ धन्यवाद दिए ।