Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शनिबार पैदल हिँड्दैछन् धराने

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७८, बिहिबार
शनिबार पैदल हिँड्दैछन् धराने

धरानः धरानमा विशेषतः दुईवटा कार्यक्रम वर्षेनी चर्चा पाउने गर्छ । त्यो कार्यक्रम हो- धरान रन र हाइकिङ (पैदलयात्रा) ।
व्यस्त र भागदौडपूर्ण दैनिकीलाई थाँती राख्दै स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्दै आयोजना हुँदै आएको कार्यक्रम शनिबार अझ बृहत हुने भएको हो ।
विगत ५ वर्षदेखि मानव जीवनलाई स्वस्थ जीवनयापन गर्न सन्देश दिँदै आएको ‘सेवक अभियान’ ले स्वास्थ्यको लागि पदयात्रा कार्यक्रम आयोजना गर्न लागेको हो । स्वास्थ्यका लागि पदयात्रा कार्यक्रम २०० औं सप्ताह प्रवेश गर्न लागेको अवसरमा सेवकले यस्तो कार्यक्रम गर्न लागेको हो ।
सो कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारी, यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द घिमिरे र पर्यटनमन्त्री खिलु लिङ्खुवाको पनि सहभागिता रहने अभियन्ता राजीव हलवाईले जानकारी दिए ।
एग्रो टुरिजमलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले ९.३ किलोमिटरको दुरी तय भएको उनले जानकारी दिए । उनका अनुसार धरानस्थित सिंहदेवी चोकदेखि यात्रा शुरु हुनेछ । शनिबार सिंहदेवी चोक, कृषि उपज बजारस्थल, अमरहाट, विजयपुर, बेलडाँडा, बसन्तटार, पुरानो बजार हुँदै कार्यक्रम समापन हुनेछ ।
शनिबार बिहान ६ बजेदेखि शुरु हुने कार्यक्रममा करिब ५ सय जनाको सहभागिता रहने उनले जानकारी दिए । उनका अनुसार स्वास्थ्यमा सचेत हुँदै गरेका नागरिक यो अभियानमा सरिक हुन थालेका छन् । सबै उमेर समूहका व्यक्तिहरू यस अभियानमा सहभागी हुन थालेको उनले जानकारी दिए । उनका अनुसार अहिले हाइकिङले धरानेको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘हप्ताभरी काममा व्यस्त भइन्छ, छोटो दुरीको यात्राले रिफ्रेस हुन्छ, धरान नजिकै रहेको गाउँले जीवनलगायत को सहजै अध्ययन गर्न पाइन्छ, भनौं, हाइकिङले धरानेको मन तानेको छ ।’ उनले भने ।
उनका अनुसार यतिका श्रृङ्खलासम्म आइपुग्दा अहिलेसम्म कुनै रुट दोहोरिएको छैन । हरेकपल्ट नयाँ नयाँ रुट तय हुन्छ ।

प्रकाशित मिति: फाल्गुन २६ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend