Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१५ मा स्वास्थ्य केन्द्रको भवन बन्यो, ४५ प्रकारको औषधि निःशुल्क पाइने

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७८, शुक्रबार
धरान-१५ मा स्वास्थ्य केन्द्रको भवन बन्यो, ४५ प्रकारको औषधि निःशुल्क पाइने

धरानः धरान उपमहानगरपालिकाको वडा नं. १५ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
शुक्रबार संघिय सांसद जयकुमार राई र मेयर तिलक राईले संयूक्त रुपमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन गरेको हो ।
भवन उद्घाटन पश्चात् सांसद राईले स्वास्थ्य भन्दा ठूलो कुरा अरु केही हुन नसक्ने बताए । वडा नं. १५ भरिका जनताहरुलाई लक्षित गरेर स्वास्थ्य सेवा उपलब्ध होस् भन्ने उद्देश्यले शुक्रबार आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको उनले बताए । उनले प्रत्येक स्थानीय तहमा १५ शैथ्याको अस्पताल र प्रत्येक वार्डहरुमा स्वास्थ्य सेवा केन्द्र विस्तार गर्ने निति अनरुप नै यो भवन निर्माण भएको बताए ।
मेयर राईले सरकारको नीतिअनुसार एक वडामा एक आधारभूत स्वास्थ्य सेवा निर्माण गर्ने कार्यक्रमअन्तर्गत धरानको २० वटा वडामध्ये ९ वटा वडामा स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको क्रम चलिरहेको छ । तीमध्ये केही वडाहरुमा निर्माणको काम सम्पन्न भइसकेको छ भने केही वडाहरुमा ठेकेदारको कमीकमजोरीका कारणले ढिलासुस्ती हुन गइरहेको उनले बताए । उनले भवन निर्माणको काम चाँडै सक्न पनि ठेकेदारलाई दबाब दिइरहेको बताए ।
उपमेयर मञ्जु भण्डारी सुवेदीले २५ हजार भन्दा बढी जनसंख्या रहेको १५ नं. वडामा स्वास्थ्य सेवा केन्द्र भवन निर्माण गर्न सफल भएको बताइन् । उनले धरानको ८ वटा वार्डहरुमा स्वास्थ्य सेवा केन्द्र भवनको शुभारम्भ गरिएको बताइन् । आफ्नै कार्यकालमा शुरु गरेर आफ्नै कार्यकालमा भवन उद्घाटन गर्न पाउँदा यो गर्वको विषय बनेको उनले बताइन् ।
वडाध्यक्ष नरेश इवारमले ०७६ साल मंसिर १४ गतेको निर्वाचनपछि मेयर तिलक राई निर्वाचित भएर आए पश्चात उपमहानगरपालिकामा संघीय बजेट आएपछि स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको कार्य अगाडि बढेर भवन निर्माण सम्पन्न भएको बताए । सो आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन ६३ लाखको लागतमा बनेको बताए ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले धरानको जुनजुन वार्डहरुमा स्वास्थ्य संस्था छैन । ती वडाहरुमा स्वास्थ्य संस्था स्थापना गर्न योजनाहरु अगाडी बढाउने बताए । आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ठूल्ठूला हस्पिटलमा प्राप्त हुन नसक्ने सेवाहरु पनि पाइने जानकारी दिए । उनका अनुसार आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ४५ किसिमको औषधिहरु निःशुल्क पाइन्छ । धरानका वडा नं. ११, १३, १४ र १५ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएर सञ्चालनमा आएको उनले जानकारी दिए । वडा नं. ६ र १७ मा भवन निर्माण भएको तर उद्घाटन भएको छैन । वडा नं. ४, ८ र १६ को भवन निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

प्रकाशित मिति: फाल्गुन २७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend